नेलम्बो नेपालको ५ दिने निःशुल्क दन्त शिविरबाट ३ सय ३ जना लाभाम्वित


     एभरेस्ट आवाज    
     जेठ ७ गते २०८० मा प्रकाशित




पोखरा । नेलम्बो नेपालको आयोजनामा ५ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कास्कीको रुपा गाउँपालिकाको समन्वयमा वडा नं. ५ देउराली स्थित श्री विश्व शान्ति माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो ।

भएको शिविरमा ३ सय ३ जनाले उपचार लिएका छन् । सो शिविरमा दन्त परिक्षण, दाँत भर्ने, दाँत निकाल्ने, दाँत सफा गर्ने, दाँतको एक्सरे, गिँजाको उपचार दाँतको जरै देखि उपचार (आर.सी.टि) र औषधी वितरण गरिएको थियो ।

उक्त दन्त शिविरमा डा.सिजन मर्सानीको नेतृत्वमा ८ जनाको टोली उपचारमा संग्लन रहेको थियो । नेलम्बो नेपालसँग दन्त शिविरलाई प्रभावकारी बनाउनको लागि अत्याधुनिक उपकरण जडित मोवाइल डेण्टल भेन रहेको छ । सम्पूर्ण उपचारको व्यवस्था पनि भेन भित्र नै रहेकोले दन्त शिविर प्रभावकारी र फलदायि रहेको उपचारमा संलग्न सेवा ग्राहीहरुले बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले नेलम्बो नेपालसँग पहिलेको वर्षहरुमा पनि निःशुल्क दन्त शिविरहरु सञ्चालन गरेको बताए । उनले सेवा निकै प्रसंशनीय रहेकोले नेलम्बो नेपालसँग सहकार्य गरि शिविर सञ्चालन गरेको जानकारी दिए ।

त्यसै गरी कार्यक्रममका सभापति राजन खनालले आफुले धेरै प्रकारका शिविरहरु देखेको तर यो किसिमको विशिष्ट सुविधायुक्त शिविर सञ्चालन हुनु आफैमा खुसीको कुरा भएको बताए ।

साथै यो ५ दिने शिविरमा उपचार गराईएका विरामीहरुलाई फलोअप गरी पुनः उपचारको व्यबस्था पनि गरिएको नेलम्बो नेपालका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।