वर्षाले ग्रामिण सडक प्रभावित, मनाङको सडक सञ्जाल टुट्दै


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०८० मा प्रकाशित




मनाङ । प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ ।

डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–१ सिरानतालमा सुक्खा पहिरो खसेको छ । सुक्खा पहिराका कारण सडक अवरुद्ध भएको नासो–५ का वडाध्यक्ष थुदेन लामाले जानकारी दिए। “वर्षायाम सुरुआत हुनासाथ मनाङमा जोखिम बढेको छ, यात्रुमात्रै आवतजावत गर्नसमेत सकस भएको छ”, उनले भने ।

उनका अनुसार बुधबार साँझदेखि चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । “अवरुद्ध सडक आजदेखि खुलाउने प्रयास भएको छ, उक्त सडकअन्तर्गत अन्य स्थानमा भने अवरुद्ध रहेको छैन”, उनले भने ।

दुई वर्षअघि पहिराका कारण भत्किएको सडक मर्मत गर्दा रहेका चट्टान खसेर अवरुद्ध भएको सडक खुलाउन एस्काभेटर ल्याउँदै गरेको डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयका सब इञ्जिनियर सुमन अधिकारीले जानकारी दिए ।

“पहिरो खसेको स्थानमा आइपुगेका छौँ”, आज सडक खुलाउने प्रयासमा जुटेका छौँ”, उनले भने, “आज मनाङ मात्रै नभई प्रदेशमा नै मौसम प्रतिकूल देखाएको छ, तर पनि यहाँको मौसम सफा त छैन, अनुकूल नै रहेमा आजै सडक खुल्छ ।”

वर्षायाम वा अन्य समयमा पनि मनाङको यात्रा सहज भने छैन । वर्षायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ । वर्षायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किँने हुँदा मनाङवासी तथा पर्यटक आवतजावतमा समस्या हुने गरेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।