अपाङ्गता भएकाहरु भन्छन् : सेवा, संरचना र प्रणालीमा हाम्रो पहुँच कहिले पुग्छ ?


     एभरेस्ट आवाज    
     जेठ १६ गते २०८० मा प्रकाशित




पोखरा, जेठ १६

अपाङ्गता भएकाहरुले पहुँचयुक्त सेवा, संरचना र प्रणाली अवलम्वन नहुँदा आफूहरु सुविधा लिनबाट बञ्चित भएको गुनासो गरेका छन् । अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) नेपालको आयोजना तथा आईएनएफ नेपाल हरियो खर्क अस्पताल पोखरा र ह्यूमिडियासँगको सहकार्यमा मंगलबार पोखरामा आयोजित ‘सेवा, संरचना र प्रणालीमा सबैका लागि पहुँचयुक्त’ विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनीहरुले कागजमा अधिकार स्थापित भएपनि व्यवहारमा लागू नहुँदा आफूहरु सेवाबाट बञ्चित हुनुपरेको गुनासो गरेका हुन् । साथै उनीहरुले पहुँचयुक्त सेवा, संरचना र प्रणालीमा हाम्रो पहुँच कहिले ? भनेर प्रश्नपनि गरेका छन् ।

सरोकारवालाहरुले शौचालयदेखि सडकसम्मका संरचना अपाङ्गता भएकाहरुको पहुँचयुक्त नभएको बताए । आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराका कार्यक्रम संयोजक तारा हाङ्गले पहुँचयुक्त संरचना नहुँदा विभेदसँगै अपमानित हुनुपर्ने स्थिति रहेको बताए । ‘सेवा, संरचना र प्रणाली सबैको पहुँचयुक्त हुनुपर्ने हो तर यहाँका सार्वजनिक बस हात उठाएपछि मात्रै रोक्छ । हातै नभएकाले कसरी हात उठाउने ?–उनले भने ।’ उनले हाल बनिसकेका र बन्ने क्रममा रहेका आकाशे पुल, व्यापारिक मल, रंगशाला अपाङ्गता भएकाहरुको पहुँचमा कहिले पुग्छ भनेर प्रश्नपनि गरेका छन् ।

अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा)का महासचिव विष्णु खनालले सरकारकै सेवा, प्रणाली र संरचना अपाङ्गमैत्री नबनेको भन्दै कटाक्ष गरे । उनले भने,‘सडकमा स्पीड ब्रेकर राखिन्छ तर हामी अपाङ्गता भएकालाई त्यसले कस्तो असर पुगेको छ भन्ने महानगरलाई के थाहा ? सडक बिग्रिएर बनेको खाल्डोमा हामी नै जाकिन्छौं । हामी हिंड्ने सडक पेटीमा विद्युतको पोल, नर्सरी बनाउने नाममा राखिएका गमलाले हामीमाथि सरकारी अत्याचार प्रष्ट हुन्छ ।’

अभिभावक सरला अधिकारीले सेवा, प्रणाली र संरचना बौद्धिक अपाङ्गताहरुका लागिपनि पहुँचयुक्त हुनुपर्ने बताए । ‘जस्तै शौचालय कहाँ छ ? कसरी प्रयोग गर्ने ? किन प्रयोग गर्नेसम्मपनि उनीहरुलाई थाहा हुँदैन । त्यस्ताका लागि पहुँचयुक्त हुने वातावरण बनाउनुपर्छ’–उनले भनिन् ।
कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय अपाङ्ग महासंघका महासचिव कृष्ण गौतमले अन्र्तराष्ट्रिय महासन्धी अनुसार नेपालले सबैका लागि पहुँचयुक्त संरचना बनाउनुपर्ने बताए । अन्र्तराष्ट्रिय महासन्धी नेपालले पारित गरिसकेकाले त्यो कानून सरह हुने भएपनि व्यवहारमा भने कार्यान्वयन नभएको बताए । उनका अनुसार विश्वव्यापी डिजाईनका सिद्धान्त अनुसार सेवा, संरचना र प्रणाली सरल, सहज, न्यून बलको प्रयोग, अवलोकन योग्य जानकारीलगायत हुनुपर्ने बताए । उनले अब बन्ने संरचना, सेवा र प्रणाली पहुँचयुक्त भएनभएकोबारे शुरुमा पहुँचयुक्त परीक्षण गरिनुपर्ने भन्दै त्यसको अभ्यास यदाकदा शुरु भइसकेको उल्लेख गरे ।

अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा) नेपालका अध्यक्ष दीपक तिमिल्सिनाले अपाङ्गताको अधिकारका बारेमा राज्यले नै बेवास्ता गरेको आरोप लगाए । सरकारले अपाङ्गता भएकालाई हेर्ने नजर नै परिवर्तन हुनुप¥यो,उनले भने,‘भौतिक संरचना अपाङ्गमैत्री बनाउन किन नचाहेको ? बजेट अभावले हो भने नीजि क्षेत्रसँग सहकार्य गर्नपनि सकिन्छ ।’

डिडाका संस्थापक अध्यक्ष गिरीधारी शर्माले कलेज, सपिङ मल, रंगशालादेखि कार्यालय भवनसम्म पहुँचयुक्त नहुँदा सेवा लिन मुश्किल हुनेगरेको बताए ।

पोखरा महानगरपालिकाका सिभिल ईञ्जिनियर अमीर भण्डारीले सबैको पहुँचयुक्त सेवा, प्रणाली र संरचना बनाउन महानगर प्रतिबद्ध रहेको बताउँदै यसलाई घरबाटै शुरु गर्न सर्वसाधारण सबैलाई आग्रह गरे ।

गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले समानुभूति दृष्टिचेतबाट हेर्न सकेमात्रपनि अपाङ्गमैत्री सेवा, प्रणाली र संरचना निर्माण गर्न सहज हुने बताए । उनले सबै संरचना एकैपटक फेर्न नसकिने भन्दै महानगरले अपाङ्गमैत्री बस सञ्चालन गर्न सकेमात्रैपनि राहत पुग्ने बताए । त्यसका लागि आफूले सदनमा आवाज उठाउने प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद भट्टराईले योजना निर्माणदेखि डिपीआरहुँदै डिजाईन बनाउँदा नै अपाङ्गमैत्री बनाईनुपर्ने बताए । उनले भने,‘डिजाईन र डिपीआरमा नसमेटिने अनि बनिसकेपछि भएन भनेर विरोध हुन्छ । त्यतिबेला ढिलो भइसकेको हुन्छ ।’ उनले अहिले भइरहेको संरचनामा डिजाईन गर्दा नै थोरै सच्याउन सकेमात्र पनि अपाङ्गमैत्री संरचना निर्माण र सेवा दिन सकिने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका प्रमुख खिमलाल सुवेदीले सबैको मर्यादा र अधिकार बराबरी हुने भएकाले अपाङ्गता भएकाहरुलेपनि पहुँच राख्ने सेवा, प्रणाली र सेवा दिनु सबैको दायित्व भएको बताए । मानव अधिकार सबैका लागि हो,उनले भने,‘तर व्यवहारमा पाईंदैन । त्यो सेवा, प्रणाली र संरचना सबैमा ।’ उनले संरचना, सेवा र प्रणाली मानव अधिकार विकास पद्धती अनुरुप हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले अपाङ्गमैत्री सेवा, प्रणाली र संरचना संवेदनशील भएर कार्यान्वयन गर्नुपर्ने बताईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।