संस्कृत माध्यमिक विद्यालयको शिवपाञ्चायन मन्दिरमा प्राणप्रतिष्ठा सम्पन्न


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको संस्कृत माध्यमिक विद्यालयमा निर्मित शिवपाञ्चायन मन्दिरमा स्थापित मुर्तिहरुको प्राणप्रतिष्ठा गरिएको छ ।

पोखरोको भिमकालिपाटनस्थित विद्यालयमा निर्मित विद्यालयको मन्दिरमा स्थापित गणेश, देवी, सूर्य, विष्णु, शिवलगायत देवीदेवताका मूर्तिमा शुक्रबार वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको हो । डा. भोलानारायण रेग्मीको प्रमुख आचार्यत्वमा नेत्रोन्मीलनमा विशिष्ट विद्वान् डा. चिद्घन चैतन्य महाराजले प्राणप्रतिष्ठा गरेका हुन् ।

पोखराको प्रसिद्ध धार्मिक स्थल गाईघाट, विन्ध्यवासिनी नजिक रहेको सो मन्दिरलाई स्थानीय समुदायको अपनत्व र संरक्षकत्वमा महत्वपूर्ण धार्मिक स्थलका रुपमा स्थापित गर्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समिति सदस्य रोजी पराजुलीले जानकारी दिइन् ।

२०७५ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहलमा विनियोजित पन्ध्र लाख रुपैयाँबाट सुरु भएको मन्दिरको बाँकी कार्य सम्पन्न गर्न ९० लाख लागत लाग्ने मूल आयोजक समितिका संयोजक विष्णुप्रसाद अधिकारीले बताए ।
कार्यक्रम सम्पन्न गर्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा एक हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको प्रचार प्रसार उपसमिति संयोजक श्रीकान्त सापकोटाले जानकारी दिए ।

यसैविच विद्यालयले मन्दिर निर्माण समिति, चन्दादाता, स्थानीय संघसंस्था, आमा समूह, युवा क्लब तथा सम्पूर्ण श्रद्धालु भक्तजनप्रति कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुराएकोमा धन्यवाद ज्ञापनसमेत गरेको छ । मन्दिरमा आजबाट नै दैनिक रुपमा रुद्रभिषेकलगायत धार्मिक अनुष्ठान सुरु गरिने जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।