प्रधानमन्त्री दाहाल इन्दौरबाट नयाँदिल्ली प्रस्थान


     एभरेस्ट आवाज    
     जेठ २० गते २०८० मा प्रकाशित




जेठ २० भारत । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विशेष विमानमार्फत मध्यप्रदेशको इन्दौरबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेका छन् ।

इन्दौरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले बिदाइ गरे । उनले विमानभित्रै पुगेर नेपाली प्रतिनिधिमण्डलको बिदाइ गरेका थिए ।
सो क्रममा मुख्यमन्त्री चौहानले भारत–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन आफूहरु तयार रहेको बताए । उनले भारत र नेपालबीच सदियौँ पुरानो सम्बन्ध रहेको र यसलाई अझ प्रगाढ बनाउनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले आजै इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरे । सो क्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए ।

प्रधानमन्त्री दाहाल शुक्रबार मध्यप्रदेशको इन्दौर पुगेका थिए । इन्दौरमा रहँदा उनले उज्जैनस्थित श्री महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गरेका थिए । उनले इन्दौरमा रहेको फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेका थिए ।

सो क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी गराएका थिए । स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर नगर निगमले फोहर व्यवस्थापनमा गरेको काम विश्वमै नमुनायोग्य मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू निर्वाचित भएपछि स्वच्छ भारत अभियान सुरु गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।