विश्व वातावरण दिवसः बृक्षारोपणसंगै संरक्षणमा पनि ध्यान दिनुपर्छ


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०८० मा प्रकाशित




पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा १७ रातोपहिरोमा सोमबार विश्व वातावरण दिवस मनाइएको छ । कास्कीका सिडिओ वासुदेव घिमिरेले विरुवा रोपेर कार्यक्रम सुरुआत गरे ।

कार्यक्रममा सिडियो घिमिरेले सय वर्षको परिवर्तन चाहने हो भने वृक्षरोपण गर्नुपर्ने विचार राखे । सजीवको स्वाशप्रश्वासदेखि जीवनयापनका धेरै पक्षमा वोटविरुवाको महत्व हुने उनको जनाए ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले विद्यालय तहबाटै प्रकृति संरक्षण अध्यापन गराउनुपर्नेमा जोड दिए । उनले समाज, देश र विश्वकै वातावरण स्वच्छ बनाउन सकेमात्र मानव अस्तित्व र विश्वको आयु लामो हुने उल्लेख गरे ।

वर्ड सोसाइटी पोखराका अध्यक्ष मनशान्त घिमिरेले बर्सेनी धेरै चरा लोप हँुदै गएको उल्लेख गर्दै मानव र जीवजन्तुको सहकार्यले मात्र सुन्दर संसार बन्ने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले रुखविरुवा बृक्षारोपणसंगै संरक्षणमा पनि ध्यान दिनुपर्ने बताएका थिए । संग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले वातावरण बचाउन कुनै दिवसको आवश्यकता नपर्ने बताइन् ।

‘वातावरणको महत्व हामी सवैले बुझेका छौ’ उनले भनिन, ‘बेलाबेलामा यसको महत्वबारे सम्झाउन यस्ता दिवसको पनि आवश्यकता पर्दछ ।’ उनले संग्रहालय परिसरमा विभिन्न जातका विरुवा रोपेर वातावरण दिवस मनाइएको बताइन् ।

वातावरण दिवसको अवसरमा प्रजिअ घिमिरे लगायत सम्पूर्ण सहभागीले बृक्षारोपण गरेका थिए । सोही कार्यक्रममा रसियन नागरिक डायना सार्किजानवा पनि विरुवा रोपेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।