घरभाडा ५० प्रतिशतसम्म घटाउन घरधनीलाई घरभाडा सरोकार समितिको आह्वान


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०८० मा प्रकाशित




पोखरा, जेठ ३०

घरभाडा सरोकार समिति कास्कीले घरभाडा पचास प्रतिशतसम्म घटाउन आह्वान गरेको छ । घरभाडा दिने र लिने अर्थात घरधनी र घर बहालमा बस्ने दुबैको साझा संस्थाका रुपमा रहेको नेपाल घरभाडा सरोकार समितिको कास्की शाखाले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर घरधनीहरुलाई घरभाडा २५ देखि ५० प्रतिशतसम्म घटाउन आह्वान गरेको हो । आर्थिक मन्दी र बैंकको चर्को ब्याजदरका कारण अर्थतन्त्र चलायमान नहुँदा त्यसको असर व्यापार, व्यवसायमा पर्दा आर्थिक कारोबार घटेकाले अहिलेको घरभाडा तिर्न सक्ने स्थिति नरहेको समितिको भनाई छ ।

आर्थिक मन्दी र चर्को व्याजदरले व्यापार व्यवसाय चौपट भएको छ,पत्रकार सम्मेलनमा समितिले वितरण गरेको विज्ञप्तीमा भनिएको छ,‘यहि कारण व्यवसायी व्यवसाय छाडेर पलायनसमेत भएका छन् । कतिपय व्यापारीले त आत्मदाहसम्म गरेका छन् ।’ त्यसैले घरभाडा घटाउनुपर्ने समितिको तर्क छ । समितिले पोखरामा हाल २५ देखि ३० प्रतिशत व्यवसायी पलायन भइसकेका छन् । व्यवसायी पलायन हुनुको कारण घरभाडा तिर्न नसक्नु नै भएको समितिको ठहर छ । घरभाडा नघटे पलायन हुनेको प्रतिशत बढेर ५० प्रतिशत पुग्नसक्ने समितिका अध्यक्ष कमलप्रसाद न्यौपाने बताउँछन् ।

समितिले यस्तो भयावह स्थितिमापनि केहि घरधनीले घरभाडा बृद्धि गरेको भन्दै सो निर्णय फिर्ता लिन अपिल गरेको छ । ‘विषम परिस्थितिमा सम्झौता अनुसार नै घरभाडा बृद्धि गर्नुपर्ने भएपनि अहिले बृद्धि नगर्न, बृद्धि गरिसकेको भए फिर्ता लिन हामी अपिल गर्दैछौं’–विज्ञप्तीमा भनिएको छ ।

समितिले घरभाडा नघटाए त्यसको परिणाम राम्रो नहुने चेतावनी दिएको छ । व्यवसाय नचलेका कारण घरभाडा तिर्न नसकिरहेको अवस्थामा घरभाडा नघटाउने हो भने व्यवसायी पलायन हुने र सोहि कारण सहरका धेरै सटरहरु खाली हुने स्थिति आउने समितिको चेतावनी छ । ‘त्यसैले त्यस्तो अवस्था आउन नदिनका लागि घरधनीहरुले राहतको प्याकेजका रुपमा घरभाडा ५० प्रतिशतसम्म घटाउने निर्णय गर्नुपर्ने जरुरी देखिन्छ । यसो गरेमा मात्र व्यवसायी पलायन हुने थिएनन् अनि घरका सटर तथा कोठाहरु खाली हुने स्थिति आउँदैन’–समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

समितिका अध्यक्ष न्यौपानेले संकटबाट निस्कन घरधनी र घर बहालमा बस्ने सबै एकजुट हुनुपर्ने बताए । ‘जसरी हामी भुकम्प र कोरोनाका समयमा एकजुट भएर संकटबिरुद्ध लड्यौं, आज फेरी त्यसरी नै एकजुट भएर लड्न जरुरी छ’–उनले भने ।

अध्यक्ष न्यौपानेले घरभाडा समयमै नतिरेको भएपनि अहिलेको परिस्थितिलाई बुझेर व्यवसायीलाई घर खाली गर्नका लागि बाध्य नपार्न घरधनीलाई आग्रह गरे । उनले भने,‘परिस्थिति सहज नभएसम्म बाचौं र बचाऔं भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै सबैको हित हुनेगरी विकल्प खोजौं ।’

समितिका निवर्तमान अध्यक्ष तथा राष्ट्रिय घरभाडा सरोकार समितिका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले घरभाडा तिर्न नसकेर व्यवसायी बिस्थापित हुने अवस्था आउन नहुने बताए । ‘घरभाडा थोरै घटाऔं, बहालमा बस्नेलेपनि सहजै तिरौं’–उनले भने ।

समितिका उपाध्यक्ष उमपती ढकाल र महासचिव कृष्णप्रसाद चापागाईंले घरधनी र बहालमा बस्नेबीच सुमधुर सम्बन्ध हुनुपर्ने र समस्यामा पर्दा आपसमा मिलेर संकट टार्नुपर्नेमा जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।