काठमाण्डौं । काठमाडौँ महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । महानगरका प्रमुख बालेन्द्र साहले नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका हुन् ।
मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन, “भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन हामीले तीन दिनपहिले हटाउन आह्वान गरेका थियौँ । नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन ।”
नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूतिमाथि प्रहार भई अपूरणीय क्षति हुने देखिएको तथा उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यसप्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
आदिपुरुषबाट आपत्तिजनक अंश नहटाएसम्म
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेरमात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको प्रमुख साहले बताएका छन् ।
महानगरपालिकाका प्रमुख साहको निर्देशनपछि नगर प्रहरीले आज बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिने र यसका लागि नगर प्रहरी आजैदेखि खट्ने भएको महानगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन’ भन्ने वाक्यलाई भारतमा सच्याउन मेयर साहले फेसबुक स्टाटसमार्फत तीन दिनको समय दिएका छन् । आइतबार बेलुकासम्म फिल्म निर्माताले भारतमा उक्त संवादलाई सच्याएका छैनन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







