यूकेको गोर्खा प्यालेसद्वारा ग्रासरुट फुटबल प्रशिक्षणकोलागि अक्षकोषको स्थापना


     एभरेस्ट आवाज    
     असार ६ गते २०८० मा प्रकाशित




असार ५ पोखरा । यूकेमा रहेको गोर्खा प्यालेस रेष्टुरेन्टले स्थापनाको २४ औं वर्षमा प्रवेश गरेको अवसरमा छात्रवृत्ति सञ्चालनका लागि अक्षकोषको स्थापना गरेको छ ।

कास्कीको घलेल स्थायी घर भई पोखरा–१ मिरुवा निवासी समाजसेवी सुर्य गुरुङ र उनको परिवारले यूकेमा सञ्चालन गर्दै आएको गोर्खा प्यालेस रेस्टुरेन्टले २४ औं वार्षिकोत्सवको अवसर पारेर बगर भाईखलकले सञ्चालन गरेको ग्रासरुट फुटबल प्रशिक्षणका लागि ५ लाखको अक्षकोषको स्थापना गरेको हो ।

गोर्खा प्यालेसको २४ औं वार्षिकोत्सवका अवसरमा आयोजित च्यारिटी कार्यक्रममार्फ संकलित ५ लाख रुपैयाँ पोखरामा एक कार्यक्रमकाविच ग्रासरुट फुटबल प्रशिक्षण छात्रवृत्ति अक्षकोषका लागि हस्तान्त्रण गरिएको संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

उक्त रकम समाजसेवी गुरुङकी आमा सिरकुमारी गुरुङ, सासुआमा प्रेमकुमारी गुरुङ, ससुराबुबा खिमबहादुर गुुरुङले संयुक्तरुपमा बगर भाईखलकलाई हस्तान्त्रण गरेका थिए ।

सो अवसरमा प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले अक्षकोषदाता गुरुङलाई ताम्रपत्रद्वारा सम्मान गरे ।

गुरुङ परिवारद्वारा स्थापित अक्षकोषले अभाबमा रहेका जेहन्दार र प्रतिभावान खेलाडिहरुको शैक्षिक र खेल भविष्य सुनिस्चित हुनुका साथै स्थानिय तहबाट खेलाडी उत्पादनमा टेवा पुग्ने संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।

सोही अवसरमा तमुधी युकेको आयोजनामा भएको गोर्खा कपमा बगर भाई खलकबाट सहभागि ४० वर्षमाथिका ४ जना र भारतको देहरादुनमा जेठ अन्तिम साता सम्पन्न ६० वर्षमाथिको सुपर भेट्रान फुटबल प्रतियोगितामा उपबिजेता खेलाडीहरुलाई बधाई सहित सम्मान गरिएको छ ।

संस्थाले प्रति खेलाडी अक्षकोषको एक लाखको ब्याजबाट प्राप्त रकम खेल सामाग्री र पठनपाठनमा खर्च गर्ने जनाएको छ ।

उक्त अभियानमा जापानबाट जगन गुरुङ, वेलायतबाट जित बहादुर गुरुङ, सल्लाहकार एवं पोखरा मिरुवाका प्रेम गुरुङ, पुनम गुरुङले आफ्ना बाबु मेजर मणिन्द्र गुरुङको नाममा प्रति लाख अक्षयकोष स्थापन गरेका छन् ।

गत साउनाबाट सुरु भएको उक्त एकेडेमीमा हाल भने ६० जनाले सातामा ४ दिन प्रशिक्षण लिदै आएकोे अध्यक्ष गुरुङले बताए । एकेडेमीमा सोमबार, बुधबार, शुक्रबार र शनिबार फुटवल प्रशिक्षण हुने गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।