काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा थप सुधार ल्याई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा तीव्रताका साथ अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
नेपाल उद्योग परिसङ्घकोे २० औँ वार्षिक साधारणसभालाई आज सम्वोधन गर्दै उनले औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रलगायतका विभिन्न औद्योगिक पूर्वाधार निर्माण गर्ने दिशामा केही सकारात्मक उपलब्धी हासिल भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले सम्पन्न भएका पूर्वाधारको पूर्णउपयोग गर्दै थप औद्योगिक पूर्वाधारको निर्माण गर्नेतर्फ सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले भने, “औद्योगिक वातावरण निर्माण गर्नेतर्फ सरकारले एकपछि अर्को सुधारकार्य अघि बढाइरहेको छ भने निजी क्षेत्रले पनि लगानी बढाउने र वैदेशिक लगानी आमन्त्रण गर्ने दिशामा नतिजा देखिने गरी काम गर्ने विश्वास छ, अर्थतन्त्र सुधारका लागि परिसङ्घजस्ता संस्थासँग सहकार्य गरेर नै अगाडि बढ्ने कुरामा म विश्वास दिलाउन चाहन्छु ।”
परिसङ्घले दिएको अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने सुझावलाई सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा राख्ने प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उद्योग परिसङ्घले सार्वजनिक निजी साँझेदारी (पीपीपी) मोडलमा चितवनको शक्तिखोर औद्योगिक क्षेत्र वा मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालनका लागि सरकार समक्ष आशय पेश गरेको बताउँदै उनले पीपीपी मोडलमा औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन गर्न दिनुपर्ने विषयमा सरकार स्पष्ट छ र बजेटसमेतमा उल्लेख गरिएको बताए । त्यसलाई जति सक्दो छिटो कार्यान्वयनमा लैजान पहल गरिने उनको भनाइ छ ।
“पूर्वाधार निर्माण, औद्योगिक क्षेत्रको विकास, कृषिको आधुनिकीकरण गर्नेजस्ता विषयमा हामीले अझै बढी ध्यान पुर्याउन जरूरी छ, खासगरी उत्पादन र रोजगारी वृद्धितर्फ हाम्रो आवश्यकता र सम्भावनाभन्दा भएको प्रगति ज्यादै न्यून छ, यसको फलस्वरूप पेट्रोलियम पदार्थ र औद्योगिक वस्तुमात्र नभई मुलुकभित्रै उत्पादन हुनसक्ने कृषिजन्य वस्तुपनि वर्षेनी खर्बौंको आयात गरिरहेका छौँ”, उनले भने ।
त्यसैगरी रोजगारीका लागि दैनिक दुईहजारभन्दा बढी युवा विदेशिनु परेको र मुलुकभित्र मुख्यगरी आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलव्धि दिगो रहन नसक्ने भन्दै उनले सरकार र निजी क्षेत्रको अबको बाटो भनेको उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
सरकारले घोषणा गरेको बजेटको कार्यान्वयन पक्ष कमजोर रहने गरेको सन्दर्भमा आगामी वर्षको बजेटको कार्यान्वयनलाई विशेष बनाउने गरी सरकारले कार्ययोजना बनाउने तयारी गरिरहेको बताउँदै उनले सरकारले बजेट कार्यान्वयनको सिलसिलामा चाल्ने कदममा पनि परिसङ्घको पूर्णसहयोग रहने विश्वास लिएको बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





