सिचुवान ड्रागनलाई नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधी


     एभरेस्ट आवाज    
     असार ९ गते २०८० मा प्रकाशित




असार ९ पोखरा । पोखरामा सम्पन्न पहिलो नेपाल–चीनमैत्रीपूर्ण ‘ड्रागन बोट रेस’को उपाधि चीनको सिचुवान ड्रागन बोट टिमले जितेको छ ।

शनिबार भएको २ सय र ५ सय मिटरको अन्तिम रेसमा चीनको सिचुवान ड्रागन बोट टिमले दुवैमा स्पर्धामा जित निकाल्दै उपाधी जितेको हो । प्रतियोगितामा विजयी भएको सिचुवान ड्रागनले दुवै स्पर्धामा उत्कृष्ट बन्दै ५ लाख ५० हजार रुपैयाँका दरले ११ लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा नेपाली ‘नारा ड्रागन बोट टिम’ २ र ५ सय मिटरको दुबै स्पर्धामा दोश्रो स्थान प्राप्त गर्दै ३ लाख ५० हजार रुपैयाँका दरले ७ लाख रुपैयाँ प्राप्त गर्न सफल भएको छ ।

यस्तै युनान ड्रागन बोट टिम दुवै स्पर्धामा तेश्रो हुँदै प्रति स्पर्धा २ लाखका दरले ४ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा नेपाली टिम एनआरसीए उत्कृष्ट ४ मा पर्न सफल भएको थियो ।

शुक्रबारबाट पोखराको फेवातालमा शुरु भएको प्रतियोगितामा नेपाल र चीनका ४–४ गरी ८ टिम सहभागी थिए । प्रतियोगितामा भाग लिएका ८ वटै टिमले नगद १–१ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

विजेता खेलाडीलाई राष्टिय सभा अध्यक्ष गणेश तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदूत छन् छोङ, पोखरा महानगरका मेयर धनराज आचार्यलगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।