जसपाको विधान अधिवेशन सुरु


     एभरेस्ट आवाज    
     असार १० गते २०८० मा प्रकाशित




जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि राजधानीमा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज पार्टी अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद अध्यक्ष अशोक राईले अधिवेशनको उद्घाटन गरेका हुन् ।

अधिवेशन आजदेखि तीन दिनसम्म सञ्चालन हुने सो पार्टीले जनाएको छ । पार्टीको शनिबार काठमाडौँमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको पार्टीको विधानको मस्यौदा यसै अधिवेशनमा पेस गरेर छलफल हुन लागेको जनाइएको छ ।

यस अधिवेशनमा केन्द्रीय समितिका चार सय छ सदस्यका साथै प्रदेश समिति, राष्ट्रिय समिति, विषेश प्रदेश समिति, जिल्ला समिति, महानगर, भातृ सङ्गठन तथा केन्द्रीय समितिबाट मानोनित हुने १० जनासहित सात सय ६१ प्रतिनिधि सहभागी छन् ।

सहभागी भएका प्रतिनिधिलाई विभिन्न १० समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ भने छलफल सकिएपछि विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्यतालिका बनाइएको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।