सरकार र राज्यप्रति जनतामा टुटेको भरोसा जागेको छ : प्रधानमन्त्री प्रचण्ड


     एभरेस्ट आवाज    
     असार १६ गते २०८० मा प्रकाशित




पोखरा, असार १६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतामा सरकार र राज्यप्रति पुनः आशा, भरोसा र विश्वास जागेको बताएका छन् । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले विगतमा सरकार र राज्यप्रति टुटेको आशा, भरोसा र विश्वास अहिलेको सरकारका कारण पुनः जागेको बताएका हुन् । ‘जनतामा सरकारप्रति, राज्यप्रति बिस्तारै टुटेको भरोसा फेरि प्राप्त हुँदै गएको छ’–उनले भने । जनताले अहिले सरकारले गरिरहेका काम हाम्रै लागि त हो नि भनेर बुझ्न थालेको बताउँदै उनले भने,‘सरकार, राज्यले त हाम्रै लागि ग¥या हो नि भन्ने बुझ्न थालेका छन् । सरकारले पछिल्लो समय गरेका सुशासन सम्बन्धी, भारत भ्रमणका क्रममा गरिएको देशको हित सम्बन्धी, सामाजिक न्याय सम्बन्धी कामले जनतामा आशा, भरोसा, विश्वास जागेको उनको दाबी छ । त्यस्तै, समयमा कहिल्यै पुस्तक नपुग्ने दुरदराजमा समयमै पुस्तक पु¥याउनु, किसानलाई मलको अभाव हुन नदिनु, भ्रष्टाचार सम्बन्धी फाईल खोलेर दोषीमाथि कारवाही गरिनु, नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेमाथिको कारवाहीलगायतले जनतामा आशा र विश्वासको सञ्चार गराएको उनको भनाई छ । उनले भ्रष्टाचार सम्बन्धी फाईल नेपाल सरकारको सहमतिमै अगाडि बढेपनि प्रहरीलाई दोषीलाई उन्मुक्ति नदिन र निर्दोष नपरोस् भनेर स्पष्ट निर्देशन दिइएको बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन थोरै वा धेरै जे भएपनि जनताको भरोसा र विश्वास भएसम्म फरक नपर्ने बताए । ‘सरकारको भरोसा भनेको जनता नै हो । जनताको विश्वास र भरोसाका अगाडि सरकार जतिसुकै प्रतिशत समर्थन भएपनि बलियो भईराख्छ’–उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकार कमजोर हुँदै गएको भनाईमा सत्यता नरहेको बताए । सरकारलाई दिएको समर्थन त ९९.२५ प्रतशितबाट घटेर ५३.४५ प्रतिशतमा झर्दा सरकार त कमजोर भयो नि भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘सरकार कमजोर विलकुल भएको छैन । बजेट पासलेपनि सरकार धेरै बलियो छ भन्ने प्रमाणित गरिसकेको छ ।’ उनले बरु अहिलेको समर्थन बढेर पुनः ९९ प्रतिशत वरीपरी पुग्ने सम्भावना रहेको बताए । तर त्यसको आधारबारे भने उनले प्रष्ट्याएनन् ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने बताए । कसैले सरकारलाई कमजोर बनाएर गठनबन्धन फेर्ने प्रयास गरेपनि त्यो सम्भव नरहेको उनले दाबी गरे । उनले भने,अहिलेको गठबन्धन पाँचै बर्ष चल्छ । कसैले यो हिलाएर हिल्ने स्थिति छैन ।’

प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा परेको दवाबबारेको आतंक अब नरहेको बताए । बिग्रिएको अर्थतन्त्रलाई सरकारले सुझबुझपूर्ण ढंगले ट्रयाकमा ल्याएको बताउँदै उनले भने,‘अहिले पहिलेजस्तो अर्थतन्त्रमा परेको दवाबबारेको आतंक छैन । अर्थतन्त्रलाई गति दिईदैछ, लयमा फर्किदैछ ।’ बैंक व्याजदर घटाउने, विदेशी मुद्राको सञ्चिती बढ्ने, रेमिटान्स बढ्नेलगायतका सकारात्मक कामले अर्थतन्त्रका सूचकहरु सकारात्मक भएको उनको भनाई छ । यद्वपी अर्थतन्त्रमा अहिलेपनि दवाब भने रहेको बताए । ‘ढुक्क भईहाल्ने स्थितिचाहिं बनिसकेको छैन’–उनले भने ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण ऐतिहासिक भएको बताए । भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदी आफैले नेपाल–भारतबीच सीमा समस्या रहेको र यसलाई सम्बोधन गर्ने भनेर स्वीकार गर्नु नै भ्रमणको प्रमुख उपलब्धी भएको उनको भनाई छ । ‘राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता र हाम्रो जमिन फिर्ता लिने बारेमा हामी जो चिन्तित् छौं । हाम्रो लागि यो भन्दा ठूलो खुशीको कुरा अरु हुन सक्दैन’–उनले भने । त्यसबाहेक जलमार्गको विकल्प खुल्ला गर्ने सम्झौता, बंगलादेश, भारत र नेपालबीच विद्युत व्यापार सम्बन्धीको त्रिपक्षीय सम्झौतालगायतपनि भ्रमणको ऐतिहासिक र महत्वपूर्ण उपलब्धी भएको उनले दाबी गरे । तर यसको प्रचार गर्दा प्रचण्डलाई फाईदा पुग्छ भनेर प्रचारमा कञ्जुस्याईं गरिएको उनको भनाई छ ।

प्रचण्डले चाँडै अर्को छिमेकी देश चीन जाने बताए । त्यहाँपनि आफूले नेपालको हित र देशको विकास र समृद्धिका पक्षमा महत्वपूर्ण सम्झौता गर्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।