पोखरा । गण्डकी विश्वविद्यालयको अनुसन्धान केन्द्र र अन्वेषण तथा आविस्कार केन्द्रले छोटो समयमै ८ औजार निर्माण गरेको छ ।

केन्द्रले छोटो समयमै आविस्कारमा फड्को मार्दै ८ औजार निर्माण गरेको हो । केन्द्रले कृषि केन्द्रीत औजारहरु निर्माण गरेको विश्वविद्यालयका रजिस्टार कैलाश तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार केन्द्रले घाँस टुक्राउने मेसिन, गाईभैंसीको गोबर पेल्ने मेसिन, कोदो हार्भेस्ट गर्ने मेसिन, सोलार ड्रायर, दाउरा चिर्ने मेसिन, अदुवा प्रशोधन गर्ने मेसिन निर्माण गरिसकेको छ । त्यस्तै, विश्वविद्यालयले ईलेक्ट्रिक स्कुटर र बाँदर धपाउने मेसिन र बन्दूकपनि निर्माण गरेको रजिस्टार तिमिल्सिनाले जानकारी दिए ।
केन्द्रले निर्माण गरेको घाँस टुक्राउने मेसिनले घाँस टुक्राउने काम गर्छ । जसले गर्दा फोहोर घटाउन मद्दत पुग्ने गण्डकी विश्वविद्यालयको विश्वास छ । गोबर पेल्ने मेसिनले भने गोबरलाई पेलेर फाइबर र रस छुट्याउँछ ।
गोबरबाट निस्केको रस अत्यन्त उपयोगी हुने र बाँकी फाईबर ब्यबस्थापनमापनि सहज हुने मेकानिकल ईञ्जिनियर रितेश देवले जानकारी दिए ।
यसैगरी केन्द्रले निर्माण गरेको कोदो रोप्ने औजारले कोदो रोप्ने काम गर्छ । यसले कोदोको खेती गर्ने किसानलाई काममा सहजता ल्याउने विश्वविद्यालयको दाबी छ ।
यसबाहेक केन्द्रले अदुवा र लसुनको बोक्रा छोडाउने जिंजर पिलिङ मेसिन र दाउरा चिर्ने मेसिनपनि बनाएको छ । जिंजर पिलिङ मेसिनले आलु, बेसारलगायतका बोक्रापनि छोडाउन मिल्ने ईञ्जिनियर देवले बताए । यसले ठूलो मात्रामा अदुवा, लसुन खेती गर्ने किसानलाई फाईदा पुग्ने उनको भनाई छ ।
केन्द्रले बनाएको सोलार ड्रायरले तरकारी र फलफूल सुकाएर सुख्खा बनाउने काम गर्छ । ७० डिग्री सेल्सियससम्मको तापक्रम दिएर फलफूल र तरकारी सुकाएर बजारमा पठाउन यसले सहज हुने केन्द्रको दाबी छ ।
केन्द्रले विद्युतीय स्कुटरपनि तयार पारेको छ । तर यो स्कुटर आफैले निर्माण गरेको नभई पेट्रोलबाट चल्ने स्कुटरलाई विद्युतीय स्कुटरमा रुपान्तरण (मोर्डिफाईड) गरेको मात्र हो ।

पेट्रोलबाट चल्दै आएको सवारी साधनलाई विस्थापित गरेर विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप विद्युतीय स्कुटर निर्माण गरिएको ईञ्जिनियर देवले जानकारी दिए ।
केन्द्रले बाँदर धपाउने दुई प्रकारको मेसिनपनि बनाएको छ । केन्द्रले बाँदर बन्दुक र स्वचालित मेसिन गरेर दुई प्रकारको बाँदर धपाउने मेसिन बनाएको हो । बाँदर बन्दुक पड्काउँदा ठूलो आवाज आउँछ । जसको आवाजले बाँदर भाग्ने ईञ्जिनियर देवले बताए । त्यस्तै स्वचालित मेसिनले विभिन्न प्रकारको ठूलो आवाज निकालेर बाँदर धपाउने उनको भनाई छ ।
केन्द्रले बनाएको घाँस टुक्राउने मेसिनलाई ५७ हजार, गोबर पेल्ने मेसिनलाई ४ लाख, जिंजर पिलिङ मेसिनलाई साढे ३ लाख रुपैयाँ पर्ने रजिस्टार डा.तिमिल्सिनाले बताए । उनका अनुसार ईलेक्ट्रिक स्कुटर रुपान्तरण गर्दा करीब १ लाख, बाँदर धपाउने बन्दुकलाई ३ लाख रुपैयाँ पर्छ ।
केन्द्रले निर्माण गरेका सबै औजारहरु सोमबार एक औपचारिक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले औजारहरुको सार्वजनिक गरेका हुन् ।
विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङले आविष्कार तथा अन्वेषण केन्द्र स्थापना भएको छोटो समयमै किसान केन्द्रीत औजारहरु निर्माण गर्न सक्नु उपलब्धीमूलक भएको बताए । उनले भने,‘हामीलाई आवश्यक पर्ने नया नया औजारहरुको अनुसन्धान, अन्वेषण र आविस्कार गर्ने हाम्रो उद्देश्य हो ।
त्यसमै केन्द्रीत भएर निर्माण गरिएका यी औजारहरुको बजारीकरण र ब्यबस्थापनमापनि ध्यान दिईनुपर्छ ।’ उनले स्थापनाको तीन वर्षपछि बल्ल परिणाम आउने बेला भएको बताए ।
कोदोको रक्सी ब्राण्डिङ गर्नेबारे अनुसन्धान भईरहेको बताउँदै साउन मसान्तसम्ममा यसले पूर्णता पाउने बताए । तर कोदोको रक्सी उत्पादन र बेचबिखन सम्बन्धी कानून बनिनसकेकाले यसको वातावरण सरकार र राजनीतिक दलहरुले बनाउनुपर्ने उनको भनाई छ ।
उनले पेट्रोलबाट चल्ने सवारी साधनलाई बिस्थापित गरी विद्युतीय सवारी साधन चलाउने सरकारको नीतिलाई आफूहरुले पछ्याउँदै विद्युतीय स्कुटर तयार गरेको बताए ।
उपकुलपति प्राडा नवराज देवकोटाले नेपाली माटो सुहाउँदो औजार निर्माण गरिएको र यो तुलनात्मक रुपमा सस्तोपनि भएको दाबी गरे ।
गण्डकी विश्वविद्यालय प्रदेश सरकारले स्थापना गरेको नेपालकै पहिलो विश्वविद्यालय हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







