पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक मिचेर बनाइएका अवैध संरचना हटाउन शुरु


     एभरेस्ट आवाज    
     असार २५ गते २०८० मा प्रकाशित




पोखरा, असार २५

पृथ्वी राजमार्गमा भएको अतिक्रमणबिरुद्ध पोखरा महानगरपालिकाले डोजर चलाउन शुरु गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने पोखराको पृथ्वीचोकदेखि बिजयपुरसम्मको सडक क्षेत्रमा भएको अतिक्रमण हटाउन पोखरा महानगरपालिकाले डोजर चलाउन शुरु गरेको हो ।

एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पृथ्वी राजमार्गलाई चार लेनको बनाईदैछ । पोखरा–काठमाडौंको करीब दुई सय किलोमिटर नै चार लेनको सडक बनाउनेगरी हाल कोत्रेदेखि मुग्लिङसम्मको सडक निर्माण कार्य भईरहेको छ । कास्कीको पोखरा क्षेत्रको सडक खण्डमा भने अब केहि समयपछि बनाउन शुरु हुने सडक विभागले जनाएको छ । सडक निर्माणको अवस्था बुझ्न यहि असार २७ गते एडिबीको टोली पोखरा आउने बताइएको छ ।

एडिबीको टोली पोखरा आउने भएपछि पोखरा महानगरले हतारहतार पृथ्वी राजमार्ग मिचेर पोखराको पृथ्वीचोकदेखि बिजयपुरसम्म बनाइएका अवैध संरचना हटाउन शुरु गरेको छ । जसको पहिलो दिन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आफै पुगेर निर्देशन दिएपछि अवैध संरचना भत्काउन शुरु गरिएको हो ।

यो सडक खण्डमा अवैध संरचना हटाएको पहिलो पटक भने होईन । यसअघि दुईपटक सो क्षेत्रमा बनेका अवैध संरचना हटाउन डोजर चलाईसकिएको छ । करीब पाँच वर्ष अघिपनि यसरी नै सो क्षेत्रमा डोजर चलाइएको थियो । तर अवैध संरचना हटाएको लामो समयसम्मपनि सडक बिस्तार नभएपछि पुनः अतिक्रमण शुरु भएको थियो । हाल सोहि अतिक्रमित संरचना महानगरले हटाइरहेको हो ।

पहिलो चरणमा पृथ्वीचोकदेखि बिजयपुर खोलासम्म बनेका अवैध संरचना हटाईने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । उनका अनुसार यी क्षेत्रमा राजमार्गको २३ मिटर मापदण्डमा पर्ने राजमार्गको दायाँबायाँ दुबैतर्फ रहेका सबै अवैध संरचना हटाईने छ । त्यसपछि दोश्रो चरणमा बिजयपुरदेखि लेखनाथ क्षेत्रहुँदै तनहुँको सीमासम्मका अवैध संरचना हटाईने उनले बताए । हामीले एक महिना अघि नै सूचना निकालेर अवैध संरचना हटाउन आग्रह गरेका थियौं,उनले भने,‘तर अटेर गरेर नहटाएपछि डोजर चलाएका हौं ।’

प्रमुख आचार्यले आउँदो बुधबार बाटो निर्माणको अवस्था बुझ्न एडिबीको टोली आउन लागेको जानकारी दिए । ‘त्यसैले उहाँहरु आउनु अगाडि नै राईट अफ वे क्लियर गरौं भनेर अतिक्रमित संरचना हटाउन महानगरले ईनिसियसन लिएको हो’–उनले भने । मापदण्ड भित्र अवैध संरचना जस्ताकोतस्तै देखेमा एडिबीले हात झिक्नसक्ने खतरालाई ध्यानमा राखेर अवैध संरचना भत्काउन महानगरले तदारुकता देखाएको उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।