प्रधानमन्त्रीद्धारा सिताको पार्थिव शरीरमा पुष्पहार अर्पण,केहिवेरमा पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदै


     एभरेस्ट आवाज    
     असार २७ गते २०८० मा प्रकाशित




काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का धर्मपत्नी एवं पार्टी सल्लाहकार सदस्य सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

कार्यालयको प्राङ्गणमा आयोजित शोकसभामाउनको पार्थिव शरीरमा प्रधानमन्त्री दाहालले पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे । उनको पार्थिव शरिरमा प्रधानमन्त्री दाहालले पार्टीको झण्डासमेत ओढाए । उपस्थित अन्यले पनि श्रद्धाञ्जली अपर्ण गर्दै एक मिनेट मौन धारणा गरेका थिए ।

शोकसभामा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख अग्नि सापकोटा, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेपालका लागि चिनियाँ राजदूत छनसोङलगायत विभिन्न दलका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली अपर्ण गरेका छन्।

माओवादी केन्द्रका सल्लाहकार समेत रहेका दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएका सीताको २०२६ सालमा प्रधानमन्त्री दाहालसँग विवाह भएको थियो । विसं २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिए ।

मुलुकमा गणतन्त्र ल्याउनका लागि भएको जनयुद्धको समयमा पति प्रचण्डको नेतृत्वलाई सफलतामा पुर्याउन आफ्नो जीवन बाजी लगाएर सहयोग पुर्याएका थिए । पार्टी कामका लागि पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी दाहालले देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रियरूपमा सहभागी भएका थिए ।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह थिए । पछिल्लो समय उनी पार्किन्सनलगायत रोगबाट पीडित थिए ।

प्रधानमन्त्री दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ । छोरी रेनु र गङ्गा राजनीतिमै सक्रिय छन् ।

सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ः०० देखि १ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको र अपराह्न २ः०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।