पोखरा, असार २७
यस वर्षको श्रीपती समाज सेवा पुरस्कार विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलाई प्रदान गरिने भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट पोखरा महानगरपालिका वडा नम्बर–२ स्थित विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामासमेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिलाई पुरस्कृत गर्ने आयोजकले बुधबार पत्रकार सम्मेलन गरेर घोषणा गरेको हो । पुरस्कारको राशी नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित सम्मान पत्र र पदक रहेको छ ।

श्रीपति कोइराला गुठीले २१६ औं जयन्तीको अवसर पारेर पुरस्कार घोषणा गरेको हो । पुरस्कार गुठीको ३१ औं वार्षिक साधारणसभामा प्रदान गरिने गुठीका अध्यक्ष फणिन्द्रराज कोइरालाले जानकारी दिए ।
विन्ध्यबासिनी धार्मिक विकास क्षेत्र समिति नेपालको प्रमुख शक्ति पिठहरु मध्येको एक विन्ध्यबासिनी मन्दिरको संरक्षण, विकास, बिस्तार र सौन्दर्यकरणमा खटिदै आएको छ । नेपाली र भारतीयहरुको पुजनीय केन्द्रको रुपमा रहेको विन्ध्यबासिनी मन्दिर हिन्दु मात्र नभई गैर हिन्दु समेतको आस्थाको प्रतिकको रुपमा रहेको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरको संरक्षण र विकाससँगै सामाजिक सेवालाई पनि उत्तिकै प्राथमिकताका साथ काम गर्दै आएको छ ।
विन्ध्यबासिनी धार्मिक विकास अन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यबासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप र पूजा मण्डप, विद्यावासिनी बौधिक विद्याश्रम, विभिन्न देवी देवताका मठ मन्दिरहरु रहेका छन् । सिमितिले विन्ध्यबसिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासिय रुपमा संचालन गर्नुका साथै जेष्ठ नागरिक सेवा केन्द्रको रुपमा दिवा सेवासमेत सञ्चालन गर्दै आएको छ ।
विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास अन्तर्गत प्राकृतिक चिकित्सालय संचालन र निर्माणधिन अवस्थामा छ । सर्वशुलभ रुपमा एम्बुलेन्स प्रदान गर्नुका साथै शारीरिक असक्षमता भएका नागरिक र जेष्ठ नागरिकका लागि मन्दिर दर्शका लागि लिफ्टसमेत सञ्चालन गरिएको छ । धर्म साँस्कृतिक संरक्षणका लागि धार्मिक कथा वाचन संचालन गर्ने गरिएको छ । टाढा टाढाबाट आउने साधु सन्त तथा दर्शनार्थीहरुका लागि आवास तथा भोजनको व्यवस्था गरेर समाजमा उत्कृष्ठ सामाजिक सेवा प्रदान गरेको भन्दै यस वर्षको श्रीपती समाज सेवा पुरस्कार प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष फणिन्द्रराज कोईरालाले जानकारी दिए ।
यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माईती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रमलाई पुरस्कृत गरिसकिएको गुठीले जनाएको छ ।
त्यस्तै श्रीपति सामाजिक पत्रकारिता पुरस्कार २०८० यस वर्ष बरिष्ठ पत्रकार नारायण कार्कीलाई प्रदान गरिने भएको छ । २२ हजार २ सय २२ रुपैयाँको सो पुरस्कार यस वर्ष कार्कीलाई प्रदान गर्ने निर्णय गरिएको समितिका सचिव नवराज कोईरालाले जानकारी दिए ।
२०२९ सालमा राससबाट पत्रकारिता शुरु गरेका कार्कीले पत्रकारितामा पाँच दशक बिताईसकेका छन् । हाल उनी विविसी नेपाली सेवाको गण्डकी प्रदेश ब्यूरो प्रमुखका रुपमा कार्यरत छन् । यसअघि यो पुरस्कारबाट पोखराका पुराना पत्रकार कृष्णप्रसाद बास्तोला पुरस्कृत भइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







