काठमाण्डौं । ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले आरोपीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
उक्त घटनामा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध मुलुकी ऐन, २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि सिआइबीले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो ।
त्यसपछि अहिले पुनः सिआइबीले अनुसन्धान थालेको हो । आरोपीमध्ये १७ जनाले थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने गरी सर्वाेच्चबाट अन्तरिम आदेश ल्याएपछि सिआइबीले त्यसको खारेजीको मागसहित भ्याकेट निवेदन दिएको छ । केही आरोपीहरूले भने बन्दीप्रत्यक्षीकरणको रिट दिएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







