गत आवमा चितवन निकुञ्जमा २२ गैँडा मरे


     एभरेस्ट आवाज    
     श्रावण १ गते २०८० मा प्रकाशित




चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गत आर्थिक वर्षमा २२ वटा गैँडा मरेका छन् । दुई वटा चोरी शिकारी र २० वटा प्राकृतिक कारणबाट मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत माघ ६ गते नवलपरासीको अमलटारी सेक्टरअन्तर्गत मध्यविन्दु नगरपालिका–२ स्थित नारायणी किनारमा माउ र बच्चा गैँडा चोरी शिकारीले मारेका थिए । सो घटनाका अभियुक्त पक्राउ परेको उनले जानकारी दिए ।

तिवारीका अनुसार आव २०७५÷७६ मा प्राकृति कारणले ४३ गैँडा मरेका थिए । त्यसयताको वर्षमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या त्यसभन्दा कम हुँदै आएको छ । गत वर्ष यो सङ्ख्या तुलनात्मकरूपमा घटेको हो । आव २०७६÷७७ मा २६, २०७७÷७८ मा ३९ र २०७८÷७९ मा ३५ गैँडा प्राकृतिक कारणले मरेका छन् । यस आवमा २०७२÷०७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैँडा मरेका हुन् । त्यस वर्ष १४ वटा गैँडा मरेका थिए । आव २०७३÷०७४ मा २४ वटा गैँडा मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन् । विगतका वर्षमा चोरी शिकारबाट धेरै गैँडा मर्ने गरेको भए पनि पछिल्ला वर्षमा यो सङ्ख्यामा कमी आएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।