पूर्व प्रधानपन्च रूद्रबहादुर कार्कीको स्मृति ग्रन्थ लोकार्पण, पोखराले चिन्न नसकेको अभियन्ताको रुपमा चर्चा


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०८० मा प्रकाशित




श्रावण २, पोखरा । पोखराका पूर्व प्रधानपन्च रूद्रबहादुर कार्कीको स्मृति संग्रह “रूद्रबहादुर कार्की – स्मृति ग्रन्थ” लोकार्पण गरिएको छ । पोखरामा सोमवार आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उप कुलपति संस्कृतिबिद् डा. जगमान गुरुड.ले ग्रन्थको लोकार्पण गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि डा.गुरुड.ले पोखराको बिकास, यहांको सांस्कृतिक सामाजिक पक्षको दृष्टान्त प्रस्तुत गर्दै स्व रूद्रबहादुर कार्कीको योगदान र मानविय स्वभाब बारे चर्चा गरेका थिए । पोखराको समग्र बिकासमा नेवार र क्षत्रीय समुदायको ठूलो योगदान छ, डा.गुरुड.ले भने “तर आजकाल यी दुवै समुदाय मूलधारबाट पछि पर्दै गएका छन् । तितो लाग्ला तर सत्य कुरा हो । सकारात्मक ढंगले चिन्तन मनन् गर्नुस् ।”
स्मृतिग्रन्थको परिचर्चा गर्दै शिक्षासेवी प्रा.डा. ज्ञानबहादुर कार्कीले कार्की थर रहनका कारण र कार्कीहरुको पोखरा आगमन बारे ऐतिहासिक सन्दर्भ उल्लेख गर्दै स्व. कार्की स्वभाबमा कडा, हक्कि, बोलीमा खरो तर दीनदुखीप्रति दयालु प्रकृतिको रहेको बताए । प्रधान बा भनेर चिनिने उनी मुखिया बा, दुरद्रष्टा, सत्यकालागि सतिसाल झै ठडिन सक्ने, आम बर्ग खेत खलिहानबाट उठेको, निम्न मध्यम बर्गिय समुदायबाट उठेको, सामुहिकतामा बिश्वास गर्ने, बिकास चिन्तक, आधुनिक पोखराका रुपान्तरण कर्ता, सामाजिक अभियन्ताको रुपमा स्मरण गरिने पर्ने पोखराका अमूल्य निधि रहेको बताए ।
रुद्रबहादुर कार्की साधारण मान्छे थिएनन्, प्रा डा कार्कीले ग्रन्थको समिक्षा गर्दै थपे, “उहाँसँग करुणा, बुद्धि र सकारात्मक परिवर्तन ल्याउनको लागि अथक प्रयासको दुर्लभ संयोजन थियो। एक सामाजिक अभियन्ताको रूपमा, उहाँले समानता, न्याय र सामाजिक उत्थानको वकालत गर्दै, सीमान्तकृत समुदायको अधिकारको लागि अथक संघर्ष गर्नुभयो। यो स्मृति ग्रन्थले रुद्रबहादुर कार्कीले हाम्रो समाज र उनको जीवनमा परेको अविश्वसनीय प्रभावको प्रमाणको रूपमा काम गर्दछ। स्मृति ग्रन्थ हृदयस्पर्शी सम्झनाहरु, प्रेरणादायक कथाहरू, र अग्रज व्यक्तित्वहरू द्वारा स्मरण गरिएको अर्थपूर्ण सम्झनाहरूले भरिएको छ । पुस्तकका पानाहरूमा, उहाँको निःस्वार्थ सेवा, सत्य र न्यायको लागि उहाँको अथक प्रयास, र विपन्नहरूलाई सशक्तिकरण गर्नको लागि उहाँको अटल समर्पणको कथाहरु पाउनु हुनेछ। स्मृति ग्रन्थका अध्यायहरू पार गर्दा, तपाईंले केहि व्यक्तिहरूको जीवनमा मात्र होइन ठूलो समुदायमा पनि उहाँले बनाउनुभएको अविश्वसनीय प्रभाव देख्नुहुनेछ। रुद्रबहादुर कार्कीलाई सामाजिक नेता र राजनीतिक प्राणि अनि पोखरा नगर पन्चायतको तत्कालिन एक जना प्रधान पन्चको रुपमा मात्र नभई आशाको किरण, यथास्थितिलाई चुनौती दिने, समाजलाई थप समावेशी, दयालु र न्यायपूर्ण बनाउन प्रेरित गर्ने ज्योतिको रूपमा पनि सम्झन सकिन्छ “ भनि टिप्पणी गरे ।
बि स २०२८ देखि २०३१ सम्म तत्कालिन पोखरा नगर पन्चायतका प्रधानपन्च रहेका थापाकै पालामा योजनाबद्द बिकासको खाका पोखरा गुरुयोजना २०२८, न्यूरोड सडक बिस्तार योजना, पोखरा रंगशाला र पोखरा बसपार्कको जग्गा अधिग्रहण योजना सम्पन्न भएको थियो । ती योजना साकार पार्न कार्कीलाई तत्कालिन अन्चलाधीश डा. शंकरराज पाठकको दूरदर्शिता र प्लानर ई.पदमबहादुर छेत्रीको प्राबिधिक ज्ञानले सघाएको थियो । त्यस अर्थमा कार्की भाग्यमानि साबित भए ।

कार्यक्रममा स्मृति मन्तव्य व्यक्त गर्दै कार्कीका समकालिन मित्र बिश्वमोहन गौचन, शिक्षासेवी जर्ज जोन, बरिष्ठ पत्रकार बद्रिबिनोद प्रतीक, प्राज्ञ हरिदेवी कोइराला, कृषि बैज्ञानिक डा. अनिल सुबेदी, कार्कीका नाति अस्विन कार्की, नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले कार्की आधुनिक पोखराका जग निर्माता, गोरु गाडादेखि गाडी युगका अभियन्ता, पूर्बाधारको शुरुवातकर्ता र आधुनिक पोखराका पिता रहे पनि जति चर्चा पाउनु पर्ने त्यति नपाएको तथा पोखरेलीले चिन्न नसकेको “आधुनिक पोखराका पिता” को रुपमा चित्रण गरे ।
स्व कार्कीका साइला छोरा टिकाबहादुर कार्कीले बुबाको शताब्दी जन्म जयन्तीको सन्दर्भ पारी स्मृति ग्रन्थ प्रकाशित गरेको जानकारी दिए । उनले छुटेका व्यक्तित्वको सम्झना समेटि थप परिमार्जनसहित चांडै अर्को संस्करण प्रकाशित गर्ने, बुवाको राजनीतिक बिकास अभियानको बिरासतलाई अगाडि बढाउन परिवारबाट कोहि न कोहि राजनीतिमा आउने संकेत र बुवाको योगदानलाई संस्थागत रुपमा अघि बढाउन आफ्नो परिवारको तर्फबाट योगदान रहने प्रतिबद्दता व्यक्त गरे ।
२६२ पृष्ठको “रुद्रबहादुर कार्की स्मृति ग्रन्थ” को सम्पादन मण्डलमा प्रा डा कृष्ण के सी, प्रा डा दिलबहादुर क्षत्री र उप प्राध्यापक सुरेश रानाभाट, प्रकाशकमा माईला सुपुत्र रमेशबहादुर कार्की, साईला सुपुत्र टीकाबहादुर कार्की र कान्छा सूर्यबहादुर कार्की र आवरण विम्बकवि प्राज्ञ रमेश श्रेष्ठको रहेको छ ।
स्व. कार्कीको जन्म वि.सं. १९८१ असार २९ गते र निधन वि.सं. २०७८ चैत्र ७ गते भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।