म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । खडेरी, मुहान सुक्दा, पाइप फुटेको, पहिराका कारण बेनीमा खानेपानी आपूर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था मिलाइएको हो ।
बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद रेग्मीले नियमित र पर्याप्त शुद्ध खानेपानी आपूर्तिका लागि म्याग्दी नदीबाट ‘लिफ्टिङ’ गर्न थालिएको जानकारी दिए ।
“लिफ्ट खानेपानी योजनाको परीक्षण सफल भएको छ”, उनले भने, “म्याग्दी नदीबाट लिफ्टिङ हुन थालेपछि बेनीमा खानेपानी वितरणका लागि लोडसेडिङ गर्नुपर्ने समस्या हटेको छ ।”
सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले बेनी खानेपानी आयोजनाको क्षमता विस्तार कार्यक्रमअन्तर्गत विसं २०७८ असोजमा काठमाडौँको एएम प्याराडाइजसँग रु दुई करोड ४६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
म्याग्दी नदी किनारमा १० मिटर अग्लो इनार बनाउने, पानी तान्ने सम्पवयल, विद्युत्, पाइपलाइन जडान गर्ने काम सकेर पानी ‘पम्पिङ’ गर्न थालेको निर्माण कम्पनीका आयोजना व्यवस्थापक अजय तिमिल्सिनाले बताए ।
“आठार महिनाको ठेक्का अवधि हो । पानी शुद्धीकरण गर्ने पलान्ट निर्माणस्थलमा निर्माण सामग्री ढुवानी गर्न असहज र पहिरो खसेकाले छ महिना म्याद थपिएको छ”, उनले भने, “अबको दुई महिनाभित्र बाँकी संरचना निर्माण सकेर हस्तान्तरण गर्छौं ।”
बेनी खानेपानी उपभोक्ता संस्थाको पुरानो ट्याङ्कीमा म्याग्दी नदीबाट तानेको पानी हालेर वितरण गर्न थालेको जनाएको । बेनी–नगरपालिका–२ हाडेभिरमा जमिनको सतहदेखि सात मिटर गहिरो इनारभित्र तीन वटा विद्युत्को सहायताले चल्ने पानी तान्ने समसिवल पम्प राखिएको छ ।
इनारदेखि एक सय ३० मिटर उचाइमा बेनी बजारको शिरमा रहेको बराहपाखोस्थित रिजर्भ ट्याङ्कीसम्म पानी पु¥याउन करिब नौ सय मिटर चार इञ्चको जिआइपपाइप जडान गरिएको आयोजनाका इञ्जिनियर नवीन सुवेदीले बताए ।
“हाल दुई वटा पम्पबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको छ”, उनले भने, “तीनवटै पम्प चलाउँदा प्रतिसिकेण्ड १५ लिटरका दरले पानी आपूर्ति गर्न सकिन्छ ।” आयोजनामार्फत बराहपाखोमा तीन लाख ४० हजार लिटर क्षमताको रिजर्भ टङ्याकी निर्माण भइसकेको छ । ५।९४ घनलिटर क्षमताको दुई वटा पानी शुद्धी गर्ने गर्ने फिल्टर प्लान्ट निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँ प्रविधिको सेडिमेशन र सो सान्डफिल्टर ट्याङ्की बनाउन लागिएको हो ।
आयोजनाले दुई वर्षअघि बेनी खानेपानी आयोजनाको क्षमता विस्तारका लागि रु ४२ लाख ८१ हजार आठ सय २० को लागतमा दुई लाख लिटर क्षमताको ट्याङकी निर्माण गरेको थियो । आयोजनाको हाल एक लाख लिटर क्षमताको एक वटा र दुई लाख लिटर क्षमताको दुई वटा रिजर्भ ट्याङ्की छन् ।
मुहानबाट ट्याङ्कीमा सङ्कलन हुने पानी शुद्धीकरण गरेर वितरण गर्ने संरचना तयार पार्न लागिएको हो । बेनी नगरपालिकाको ७, ८ र २ नम्बर वडाका एक हजार एक सय घरधुरीलाई रिठाखर्क, पुम्दी र कोप्रेको मुहानबाट प्रतिसेकेण्ड ३३ लिटरका दरले पानी आपूर्ति हुने क्षमता छ ।
दैनिक पाँच लाख ६० हजार लिटरका दरले खानेपानी वितरण गरिँदै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्रबन्धक यामबहादुर विकले बताए । २७ किलोमिटर दूरीको रिठाखर्क र पुम्दीको मुहानबाट आपूर्ति हुने पानी पहिरो र निर्माणाधीन बेनी–जोमसोम सडकका कारण प्रभावित भएको थियो । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







