राष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताको शिष्टाचार भेट


     एभरेस्ट आवाज    
     श्रावण ७ गते २०८० मा प्रकाशित




काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य युआन च्या च्युनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

तीन दिने नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा सुरेश चालिसे जानकारी दिए ।

भेटवार्तामा राष्ट्रपति पौडेलले एतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । युआन श्रीलङ्काको भ्रमण सम्पन्न गरी आइतबार नै काठमाडौं आइपुगेका थिए ।

सो अवसरमा नेपालका लागि चिनीयाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालगायतको सहभागिता थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।