धार्मिक पर्यटनबाट विकास सम्भव : मुख्यमन्त्री पाण्डे


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०८० मा प्रकाशित




साउन ८ तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्यवनधाममा आजदेखि सुरु भएको बोलबम धार्मिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले धार्मिकस्थललाई पर्यटनसँग जोड्न सकिए विकास सम्भव रहेको उल्लेख गरे ।

गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेकाले धार्मिक पर्यटनको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ । मुक्तिनाथ च्वयनधाम पछिल्लो समय धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेकाले यसको आवश्यक पूर्वाधार विकासका लागि सरकार सकारात्मक रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरे ।

उनले भने, “गण्डकी प्रदेश पर्यटनमा धनी छ, धार्मिक पर्यटनमा गण्डकी प्रदेशमा प्रशस्त सम्भावना छ । यसतर्फ सरकारको ध्यान गएको छ ।” च्वयनधाम र गौसंरक्षण केन्द्र सञ्चालनार्थ आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित च्यवनधाममा बोलबम महोत्सव आयोजना गरिएको हो । साउन १५ गतेसम्म हुने उक्त महोत्सवमा भागवत् मञ्जरी राधिका दासीजीले कथा वाचन गर्नेछन् ।

महोत्सव मूल समारोह समितिका संयोजक विमलप्रसाद रिमालका अनुसार महोत्सवका क्रममा भक्तजन तथा दानवीरबाट सङ्कलित रकम च्यवनधाम र गौ संरक्षण केन्द्रको विकासमा खर्च गरिनेछ । उनका अनुसार महोत्सवबाट रु एक करोड सङ्कलन गर्ने लक्ष्य छ । च्यवनधामले प्रत्येक वर्ष साउन महिनामा शिव महिमा तथा बोलबम धार्मिक महोत्सव गर्दै आएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।