सरकारले सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्छ : महामन्त्री थापा


     एभरेस्ट आवाज    
     श्रावण ८ गते २०८० मा प्रकाशित




काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न पार्टीले कुनै पनि सम्झौता नगर्ने बताएका छन् ।

यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसतिको बैठकमा आज उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै भने, “कांग्रेस भएका कारण कुनै पनि व्यक्तिले अतिरिक्त छुट पाउने र कोहीले अनावश्यक भारी पनि बोक्न हुँदैन ।”

उनले मन्त्रालयको सङ्ख्या बढाएर गठबन्धन टिकाउने अवस्थामा पार्टी नरहेको बताउँदै गठबन्धनका दलको स्वार्थका लागि पार्टीले सहयोग गर्न नहुने उल्लेख गरे ।

विसं २०८४ मा हुने निर्वाचनमा पार्टीका तर्फबाट आवश्यक तयारी गर्नुपर्ने बताउँदै उनले आगामी दिनमा पार्टीको केन्द्रीय समितिको बैठक समयमै गर्न थप आवश्यक व्यवस्था गर्नुपर्ने आवश्कता औँल्याए ।

महामन्त्री थापाले आमनागरिकको जनसरोकारको विषय पार्टीले सम्बोधन गर्न नागरिक सम्बन्ध समन्वय विभागको प्रस्तावसमेत गरे । उनले भने, “देशलाई अप्ठ्यारो परेको बेला कांग्रेसले के गर्छ भन्ने जनचासो सम्बोधन गर्नुपर्छ । आमनागरिकको जनसरोकारको विषय सुन्ने नागरिक सम्बन्ध समन्वय विभाग र जिल्ला जिल्लामा त्यस्तो कार्यालय राख्नुपर्छ ।”

दलीयकरणको दुष्चक्र हटाउनुपर्ने धारणा व्यक्त गर्दै उनले सही व्यक्तिलाई सही ठाँउमा ल्याउन जोड दिनुपर्ने बताए । महामन्त्री थापाले पार्टी सङ्गठनमा समावेशीकरणको विषयमा भएका कमजोरी सच्चाउनुपर्ने, अध्ययन अनुसन्धान बढाउने र साधारण सदस्यसँगै सक्रिय सदस्यलाई अनलाइनबाटै व्यवस्थापन गर्न आवश्यक भएको उल्लेख गरे ।

उनले नेपालका राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन असहज र अस्वाभाविक बनाइएकाले दलहरू सङ्कटमा पर्दै आएको धारणासमेत व्यक्त गरे । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।