एमालेले तोक्यो प्रदेश कमिटीको अधिवेशन


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०८० मा प्रकाशित




फाइल तस्विर

नेकपा (एमाले)ले प्रदेश कमिटी अधिवेशनको मिति तोकेको छ । गण्डकीबाहेक सबै प्रदेश कमिटीले अधिवेशनको मिति तोकेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार सम्बद्ध प्रदेश कमिटीको बैठकले आआफ्ना प्रदेशको अधिवेशन तोकेका हुन् । कोशी प्रदेशको आगामी असोज १२ र १३ गते विराटनगरमा, मधेस प्रदेशको असोज ५ र ६ गते जनकपुरमा, बागमतीको असोज ८ र ९ गते काठमाडौँमा अधिवेशन हुने गौतमले बताए ।

उनका अनुसार लुम्बिनीको भदौ १६ र १७ गते बुटवलमा, कर्णालीको भदौ २९ र ३० गते सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको भदौ २२ र २३ गते धनगढीमा अधिवेशन तोकिएको छ । उनले गण्डकी प्रदेशले यही साउन २२ गते बस्ने बैठकले अधिवेशन तोक्ने बताए ।

पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरिसक्ने एमाले पार्टी कार्यालयले जनाएको छ । सदस्यता अद्यावधिक गरिसकेपछि निर्धारित समयमा नै प्रदेश कमिटीका अधिवेशन गर्ने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । पर्टीले एक वर्षभित्र प्रदेश, जिल्ला र पालिका तहको अधिवेशन गर्ने उनले बताए । उनका अनुसार माघमा स्थानीय तह र चैतमा जिल्ला कमिटीको अधिवेशन गर्ने तयारी भइरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।