मदरल्याण्डमा गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता


     एभरेस्ट आवाज    
     भाद्र १ गते २०८० मा प्रकाशित




पोखरा । सकारात्मक सोचको विकासका लागि युवाहरूमा गतिविधि गर्दै आएको सोच समूह मदरल्याण्ङद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय खुला कविता प्रतियोगिता बिहीबार विद्यालयको प्राङ्गणमा एक समारोहबिच सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशभरिबाट ९८ कविताहरू दर्ता भएका थिए भने तीमध्ये लेखाइबाट छनोट भएका ७३ जना प्रतियोगी कवि तथा कवयित्रीहरूले कविता वाचन गरेका थिए । सहभागी सम्पूर्ण कविताहरू सकारात्मक सोचको सेरोफेरोमा रहेर लेखिएका थिए ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका रोशन तिमिल्सिना प्रथम स्थान हात पारेका थिए भने चिसाखोला वेदविद्याश्रमका अर्जुन भट्टराईले द्वितीय स्थान हासिल गरेका थिए । त्यसै गरी तृतीय स्थान पोखरा विश्वविद्यालयकै निकेश गिरीले हासिल गरेका थिए भने सान्त्वना स्थान भानुभक्त मा।वि।की अन्जना सुवेदी, पश्चिमाञ्चल इन्जिनियरिङ कलेजका विजय अधिकारी, पोखरा विश्वविद्यालयकै सुजित चौधरी र सैनिक आवासीय मा।वि।का मञ्जिल भण्डारी हात पार्न सफल भएका थिए ।

साहित्यकारत्रय डा। ईश्वरमणि अधिकारी, लक्ष्मण थापा तथा सरस्वती श्रेष्ठ ‘सरू’ ले निर्णायकको भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा पुरस्कार स्वरूप प्रथम हुनेले २० हजार र प्रमाणपत्र, द्वितीय हुनेले १२ हजार र प्रमाणपत्र, तृतीय हुनेले ८ हजार र प्रमाणपत्र तथा सान्त्वना हुनेले २ हजार ५ सय र प्रमाणपत्र प्रप्त गरेका थिए ।

यस अवसरमा सोच समूह यू। के। का संयोजक मेजर डमर घले, सोच समूह यू। ए। ई। का सयोजक हिरालाल श्रेष्ठ, कर्ण सकारात्मक ट्रस्टका संयोजक प्रवीण शाक्य लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो भने विद्यालय निर्देशक डा। त्रिभुवन शर्मा, प्र। अ। नारायण वराल, प्रमुख अतिथि लोकनाथ आचार्य तथा विशिष्ट अतिथि कर्ण शाक्यलगायतका व्यक्तिहरू बोलेका थिए ।

सोच समूह मदरल्याण्डका संयोजक अर्विन ढुङ्गानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रको सञ्चालन विद्यालयका शिक्षक विनित छन्त्याल तथा विद्यार्थीहरू अनुश्रेया सुवेदी, अनमोल रत्न बज्राचार्य, कञ्चन पाण्डे लगायतले कार्यक्रमको सञ्चालन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।