विद्यालय नाटक महोत्सव भदौ २७ देखि


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०८० मा प्रकाशित




गण्डकी । पोखरामा यही भदौ २७ गतेदेखि विद्यालय नाटक महोत्सव हुने भएको छ । सो महोत्सव आगामी असोज १२ गतेसम्म चल्ने पोखरा थिएटरका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जानकारी दिए।

‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने नाराका साथ हुन लागेको महोत्सवको लोगो पनि सार्वजनिक गरिएको छ ।

पाँचौँ संस्करणको उक्त महोत्सवमा कूल १५ वटा नाटक मञ्चन हुने र त्यसअन्तर्गत पोखरा महानगरपालिकाभित्रका विद्यालयका १४ नाटक रहने उनले जानकारी दिए । अतिथि नाटकका रुपमा काठमाडौँबाट थप एक नाटक मञ्चन हुने जनाइएको छ ।

गन्धर्व नाटकघरमा महोत्सव अवधिभर हरेक दिन एक÷एक वटाका दरले नाटक मञ्चन गरिनेछन् । पोखरा थिएटरले २०७६ मा पोखरा महानगरपालिकास्तरीय विद्यालय नाटक महोत्सव गरेकामा त्यसपछि गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरिएको थियो । लगातार तीन वर्षसम्म प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव आयोजना गरेको उक्त थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गर्न लागेको हो । थिएटरमा भइरहेका गतिविधिका कारण पछिल्लो समयमा थिएटरप्रति विद्यार्थीको आकर्षणसमेत बढ्न थालेको अध्यक्ष परिवर्तनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।