वडाध्यक्षसँग हेमजाका युवाले भने : याम्दी सडकले दियो हैरानी, हरिचोक–हेमजा चल्ने गाडी प्रभावकारी भएन


     एभरेस्ट आवाज    
     भाद्र ६ गते २०८० मा प्रकाशित




हेमजा, ५ भदौ
पोखरां–२५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले हेमजाका युवाहरुसँग अन्र्तक्रिया गरेका छन् । वडा कार्यालयको आयोजनामा हेमजामा रहेका विभिन्न यूवा क्लबमा आबद्ध युवाहरुसँग वडाध्यक्ष तिमिल्सिनाले मंगलबार अनतरक्रिया गरेका हुन् ।
युवाहरुले हेमजामा नगर बस सेवा संचालन प्रभावकारी नभएको, मध्यपहाडी लोकमार्ग अन्तर्गत हरिचोकदेखि याम्दी सम्मको सडक निर्माणमा ढिलाइ हुँदा वर्षायाममा सडक हिलाम्मे भएर आवतजावतमा हैरानी खेप्नुपरेको गुनासो गरे । उनीहरुले नगर बस सेवा सञ्चालन प्रभावकारी बनाउन तथा याम्दी सडक खण्ड चाँडो बनाउनका लागि पहलकदमी लिन आग्रह गरे ।
त्यस्तै, युवाहरुले डिजिटल पुस्तकालय अर्थात इ–लाइब्रेरीको अवस्यकता, युवा उद्यमी सम्बन्धि सिफारिस निःशुल्क गर्ने व्यवस्था गर्नसमेत आग्रह गरे । उनीहरुले दुर्धटना न्युनिकरणका लागि स्कुल स्कुलमा ट्राफिक जनचेतना कार्यक्रम गर्न, वडा तहका विभिन्न समिति गठनमा युवा प्रतिनिधित्व हुनुपर्ने, बिना धितो सहुलियत दरमा व्यवसायिक ऋण, एकीकृत कर प्रणाली लागु गर्नसमेत आग्रह गरेका थिए ।
गुनासो सुनिसकेपछि वडाध्यक्ष तिमिल्सिनाले वडाबाट समाधान गर्न मिल्ने समस्याहरुको समाधान तत्काल गर्ने प्रतिबद्धता जनाए । तर वडाबाट सम्भव नभएका समस्याको समाधान सम्बन्धित निकायमा पहल गर्ने बताए । उनले विकास र समृद्धिका लागि युवाहरुको साथ र सहयोग आवस्थक रहेको बताए ।
सो अवसरमा उनले युवाहरुलाई वडाको वार्षिक गतिविधिको जनकारी दिनुका साथै चालु आ.व लक्षित आर्थिक, सामाजिक र भौतिक विकासात्मक छलफललाई जोड दिन कार्यक्रमको आयोजन गरिएको प्रष्ट पारे ।
महनगर व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी प्रमुख नवराज अधिकारीले साना व्यवसायीका लागी वित्तीय योजना तथा सहुलियतपुर्ण कर्जा सम्बन्धि जानकारी दिएका थिए ।
कार्यक्रममा लायन्स क्लब अफ हेमजा, लियो क्लब अफ हेमजा, लियो पोखरा गण्डकी, लियो पोखरा नर्थ, हेमजा यूनाईटेड, विष्णु पादुका क्लब, आमा समुह साथै विभिन्न संघसंस्थाका युवा नेतृत्वहरुको उपस्थिति थियो ।
भदौ ६ गते सामुदायिक तथा संस्थागत विद्यालय प्र.अ र वि.त्य. समितिका अध्यक्षहरु संग, ७ गते कृषकहरु संग र ८ गते बैंक तथा वित्तिय संस्थाका प्रमुखहरु संग छलफल तथा अन्तरक्रिय कार्यक्रमको आयोजन गरिएको सुचना अधिकारी इश्वरी बास्तोलाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।