श्रम आप्रवासनका समस्या समाधानमा ‘ब्रेक थ्रु’ हुने गरी काम गरौँ : प्रधानमन्त्री प्रचण्ड


     एभरेस्ट आवाज    
     भाद्र ७ गते २०८० मा प्रकाशित




काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशबाट रोजगारीमा गएका नागरिकका समस्या समाधानमा ‘ब्रेक थ्रु’ गर्ने गरी योजना तयार गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित श्रम आप्रवासनसम्बन्धी विद्यमान समस्या तथा समाधानसम्बन्धी छलफल कार्यक्रममा उनले श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्याङ्क र अध्ययन, अनुसन्धान आवश्यक रहेको भन्दै ती विवरण तत्काल सङ्कलन गर्न निर्देशन दिए ।

प्रधानमन्त्री दाहालले भने, “वैदेशिक रोजगारीका सम्बन्धमा मध्यपूर्वमा एकथरी समस्या छ, एसिया, युरोप, अमेरिका र खाडीका अन्य देशका समस्या एकै प्रकृतिका छैनन् । त्यसकारण सबैभन्दा पहिले त हाम्रो देशबाट रोजगारीमा गएकाको सङ्ख्या, गरिरहेका कामका प्रकार, अहिलेको अवस्था, डकुमेन्टेड वा अनडकुमेन्टेड के छन् ? त्यसको एकमुष्ट विवरण तयार पार्नुस् ।”

विगत १० वर्षदेखिको प्रवृत्ति हेर्दा कस्ता प्रकृतिका समस्या देखिए, त्यहाँका श्रम आप्रवासनसम्बन्धी कानूनी विषय के छ ? लगायतका विषयमा यथार्थ र वास्तविक तथ्याङ्क, अध्ययन, अनुसन्धान चाहिएको प्रधानमन्त्रीको भनाइ छ । उनले त्यसबाटै समस्याको तत्काल समाधान गर्न सकिने उल्लेख गरे ।

प्रधानमन्त्री दाहालले देश गरिब हुँदा दुःख पाइएको उल्लेख गर्दै देश धनी बनाउने दिशातर्फ केन्द्रित हुने गरी वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी बनाउन आवश्यक भएको बताए ।

वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र वैधानिक दायरामा ल्याउन विशेष अभियान चलाउनुपर्ने बताउँदै उनले वैदेशिक रोजगारमा हुने ठगीलाई कसरी अन्त्य गर्न सकिन्छ विशेष योजना बनाउन निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले भने, “हामी देश गरिब भएर नै सबै समस्या आएको हो । देश धनी भए अन्य देशका कामदार ल्याउन सकिन्थ्यो । अब देश धनी बनाउने दिशातर्फ केन्द्रित हुँदै वैदेशिक रोजगार तथा श्रम आप्रवासनलाई व्यवस्थित, पारदर्शी र संवैधानिक प्रमेवर्कमा ल्याउनु पर्दछ ।”

श्रम आप्रवासनमा रहेका नागरिक र उनीहरूले भोगेका समस्याको यथार्थ र वास्तविक तथ्याङ्कको कमी रहेको बताउँदै उनले अध्ययन, अनुसन्धानका लागि ती विवरण तत्काल सङ्कलन गर्न निर्देशन दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।