पोखरा २६औँ वार्षिक साधारणसभा, ज्येष्ठ नागरिकको हक सुनिश्चिततामा जोड


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०८० मा प्रकाशित




भदौ ९ गण्डकी । पोखरा वृद्धाश्रमको आज आयोजित २६औँ वार्षिक साधारणसभामा ज्येष्ठ नागरिकलाई समाजमा सम्मानपूर्वक बाँच पाउनुपर्ने हक सुनिश्चित हुनुुपर्नेमा जोड दिइएको छ ।

संविधान एवं अन्य ज्येष्ठ नागरिक सम्बद्ध ऐन तथा कानुनले ज्येष्ठ नागरिकको हकलाई सुनिश्चित गरेपनि कतिपय ज्येष्ठ नागरिक अहिले पनि हकअधिकारबाट बञ्चित भएको वक्ताहरूले बताएका छन् ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले ज्येष्ठ नागरिकले समाजमा सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउँदै त्यसको पहिलो दायित्व परिवारको र दोस्रो दायित्व राज्यको भएको बताइन् । विभिन्न हकसहितको नागरिक संविधानले परिकल्पना गरेको बताउँदै उनले उल्लेखित हक अधिकारको कार्यान्वयन अपरिहार्य भएको बताइन् । ज्येष्ठ नागरिको संरक्षणमा पोखरा वृद्धाश्रमले गरेको योगदानको उनले प्रशंसा गरिन् ।

प्रदेशसभा सदस्य भीम कार्कीले पोखरा वृद्धाश्रमले अप्ठ्यारोमा परेका ज्येष्ठ नागरिकलाई साहारा दिएको बताउँदै समाजमा उनीहरुको सम्मानपूर्वक बाँच्न पाउनुपर्ने हक, अधिकारलाई सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।

पोखरा वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले ज्येष्ठ नागरिकको संरक्षणमा चाहे अनुसारको व्यवस्थापन अझै गर्न नसकिए पनि निरन्तररुपमा लागिरहेको बताए । समुदायमा आधारित वृद्धाश्रमका रुपमा पोखरा वृद्धाश्रमले ज्येष्ठ नागरिकको संरक्षण गर्दै उनीहरुको हक, अधिकार सुनिश्चित गरिरहेको उनले जानकारी गराए ।

ज्येष्ठ नागरिकको बिर्सने रोगको निःशुल्क उपचार, फिजियोथेरापीको व्यवस्थासँगै स्वास्थ्य सहायकसमेतको व्यवस्थापन गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए । वृद्धाश्रमले विभिन्न तीन टोलमा घुम्ती स्वास्थ्य सेवा सञ्चालनको योजना बनाइरहेको उनको भनाइ थियो ।

वार्षिक साधारसभाका अवसरमा पत्रकारिता एवं लेखनका माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै ‘ऋषिलीला ज्येष्ठ नागरिक पत्रकारिता पुरस्कार’बाट रविन्द्र माकाजुलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा पोखरा वृद्धाश्रमका उपाध्यक्ष केशव लम्सालले ज्येष्ठ नागरिकको मिर्गाैला लगायतको रोगको उपचारका लागि सहयोग पु¥याउन स्व छोरा ध्रुुव लम्सालको स्मृतिमा रू एक लाखको स्वास्थ्य कोष स्थापनार्थ चेक हस्तान्तरण गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।