बरिष्ठ मानव अधिकारकर्मी नेता टेकनाथ बरालको आजै अन्त्येष्टी गरियो


     एभरेस्ट आवाज    
     भाद्र १२ गते २०८० मा प्रकाशित




पोखरा, भदौ १२

वरिष्ठ मानव अधिकारकर्मी नेता टेकनाथ बराल अस्ताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–७ नुवारथोक निवासी स्वतन्त्र वामपन्थी नेताका रुपमा पहिचान बनाएका बरिष्ठ मानव अधिकारकर्मी नेता बरालको मंगलबार दिउँसो १ बजे पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।

बराल दम, मुटु र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । पछिल्लो एक हप्तादेखि अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको स्वर्गिय बरालका नातेदार तथा पत्रकार कृष्णमणी बरालले जानकारी दिए ।

स्वर्गिय बराल बरिष्ठ मानव अधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेताका रुपमा परिचित छन् । कम्युनिष्ट विचारसँग प्रभावित उनी तत्कालीन पुष्पलालको पालामा नेपाल कम्युनिष्ट पार्टीको सदस्य बनेर संगठन निर्माणमा लागेका थिए । पछि नेपालका सबै कम्युनिष्टहरु एक हुनुपर्छ भन्दै वाममोर्चाको वकालत गरेका बराल २०५१ सालदेखि भने पार्टी राजनीतिबाट अलग भई स्वतन्त्र वामपन्थी नेताका रुपमा चिनिए । सोहि बेलादेखि उनी मानव अधिकारको क्षेत्रमा जीवनपर्यन्त लडिरहे । उनलाई ईन्सेकले मानव अधिकार वर्ष पुरुष घोषणासहित सम्मान गरेको थियो ।

बरालले जनआन्दोलन २०४६ र २०६२÷६३ मा कास्कीमा नेतृत्वदायी भूमिका खेलेका थिए । पछिल्लो कुनैपनि पार्टी निकट नभई निरन्तर मानव अधिकारका क्षेत्रमा आवाज उठाएकै कारण उनलाई पोखरामात्र नभई समग्र देशले नै बरिष्ठ मानव अधिकारकर्मीको उपमा दिएका थिए । सेताम्मे कपाल फुलेर उमेरले नेटो काट्दापनि अधिकारका लागि निरन्तर लड्ने बराललाई पोखरेलीले ‘टेकनाथ बा’ भनेर बोलाउने गर्थे ।

स्वर्गिय बरालको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो ३ बजेदेखि ५ बजेसम्म उहाँको निवास पोखरा–७ मा राखिएको थियो । स्वर्गिय बरालको मंगलबार नै पोखरा–९ रामघाटस्थित तुलसीघाटमा अन्त्येष्टी गरिएको छ । उनको पार्थिव शरिरमा छोरा विद्याविमल बरालले दागवत्ती दिएका थिए ।

स्वर्गिय बरालकी श्रीमती, एक छोरा र तीन छोरी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।