मालेपाटनमा भदौ २९ गतेदेखि तिज गित र महिला खेलकुद प्रतियोगिता हुने


     एभरेस्ट आवाज    
     भाद्र २० गते २०८० मा प्रकाशित




पोखरा । पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तिज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले आउँदै गरेको हरितालिका तिजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तिज गित प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

तिज विशेष कार्यक्रम अन्तरगत खुला तिज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार तिज गीत प्रतियोगितामा कास्की जिल्ला भित्रका १८ टिम बिच प्रतिस्पर्धा हुनेछ । जसमा प्रथम हुने टिमले ४० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने टिमले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै उत्कृष्ट भेषभुषा र उत्कृष्ट नृत्य विधामा पनि पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ ।

तिज गीत प्रतियोगिताका लागि जम्मा १८ टिम दर्ता गरिने र भाद्र २५ गतेसम्म दर्ता गरिसक्नुपर्ने खेदकुद संयोजक विमल श्रेष्ठले जानकारी दिए । उनका अनुसार खेलकुदको माविस्तरिय छात्रा बास्केटबलतर्फ प्रथम हुने टिमलाई नगद रु ३० हजार, दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ ।

तीज संस्कृतिको जगेर्ना गर्दै महिला दिदिबहिनीहरुको क्षमता अभिवृद्धि गराउनुका साथै खेल क्षेत्रमा प्रतिभा जन्माउन खेलकुदका कार्यक्रम पनि आयोजना गरिएको सुर्य चन्द्र विकास समाजकी अध्यक्ष कमला गौतमले जानकारी दिइन् ।

तिज विशेष कार्यक्रमको अनुमानित खर्च ६ लाख ८० हजार रहेको र विभिन्न संघसंस्था, सामाजिक व्यक्तित्व, आमा समूह, युवा क्लब, टोलविकासहरुको सहयोगबाट कार्यक्रम सम्पन्न गरिने अध्यक्ष गौतमले बताइन् । उनका अनुसार कार्यक्रममा स्रस्टाहरुलाई सम्मान समेत गरिनेछ ।

२०५१ सालदेखि निरन्तर सक्रिय समाजले गर्ने उक्त तिज विशेष कार्यक्रम पोखरा ५मा रहेको मालेपाटन खेल मैदानमा हुनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।