अमृतको शब्दमा सविनाको ‘रहर’


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०८० मा प्रकाशित




पोखरा । गीतकार अमृत परियारको शब्द र गायिका सविना सुनामको स्वर रहेको आधुनिक गीत ‘रहर’ को म्युजिक भिडियो शनिबार पोखरामा सार्वजनिक गरिएको छ । साहित्यकार सरुभक्तले उक्त म्युजिक भिडियोको लोकार्पण गरे ।

समानान्तर साहित्यिक मञ्चद्वारा आयोजिक लोकार्पण कार्यक्रममा उनले गीतको शब्द, स्वर र संगीतको संयोजन उत्कृष्ट रहेको बताए । गीतमा संगीत र एरेन्ज विनोद रसाइलीको रहेको छ । म्युजिक भिडियोको सम्पादन र निर्देशन समेत उनैले गरेका हुन् । गीतमा अनुप अधिकारी र अञ्जु मगरको अभिनय रहेको छ । गीतको छायांकन विद्या परियारले गरेका हुन् ।

म्युजिक भिडियोमा सुखद् प्रेम कथालाई प्रस्तुत गरिएको छ । हाइलाइट्स नेपाल युट्युब च्यानलमार्फत म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।म्युजिक भिडियोको समीक्षा गर्दै चलचित्र निर्देशक कृष्णकुमार गुरुङले गीतकारको शब्दलाई म्युजिक भिडियोले न्याय गरेको बताए । उनले पोखरामा रहेर सिर्जनाकर्ममा लाग्नु चुनातीपूर्ण रहे पनि गुणस्तरको सवालमा राजधानीभन्दा कम नरहेको उल्लेख गरे ।

राष्ट्रिय योजना आयोगमा कार्यरत नेपाल सरकारका सहसचिव प्रदीप परियारले संगीतको राजधानी पोखरामा ‘रहर’ गीतले अर्को इटा थपेको भनाइ व्यक्त गरे । जिल्ला न्यायाधिवक्ता गोपाल ढकालले गायिका सुनामले जागिर र संगीत क्षेत्रलाई उत्तिकै सन्तुलनमा अगाडि बढाएको चर्चा गरे । नेपाली लेखक संघ गण्डकीका अध्यक्ष इश्वरमणि अधिकारी, पूर्व जनप्रतिनिधि धनबहादुर नेपाली, गजलकार दीपक समीप, समाजसेवी नरेन्द्र मित्रकोटी, समानान्तर साहित्यिक मञ्चका कोषाध्यक्ष सन्तोष परियार लगायतले म्युजिक भिडियोमाथि चर्चा गरे ।

गायिका सविना सुनामले यसपल्ट गीत, संगीत, स्वर र म्युजिक भिडियोमा निकै मिहिनेत गरेको बताइन् । उनी दुई दशकदेखि पोखरामा रहेर संगीतकर्ममा सक्रिय छिन् । उनले दर्जनौं गीतमा आफ्नो स्वर भरेकी छन् । पोखराका गीतकार अमृत परियार हाल नर्वेमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।