विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न पोखराका मेयरको निर्देशन


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०८० मा प्रकाशित




असोज ४ पोखरा । पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले विद्यालयको पठनपाठन नियमित रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।

शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं गएपछि पोखराका विद्यालयहरुमा पठनपाठन हुन सकेको छैन । शिक्षकहरुको आन्दोलनका कारण विद्यालयको पठनपाठन प्रभावित भएपछि पोखराका मेयर आचार्यले विहीबार एक विज्ञप्ती जारी गर्दै विद्यालयमा पठनपाठन नियमित गराउँदै शिक्षण सिकाईका क्रियाकलापहरु नियमित गर्न सरोकारवालाहरुलाई निर्देशन दिएका हुन् ।

मेयर आचार्यले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विद्यालय शान्ति क्षेत्र भएकाले यसको मर्म, भावना, मूल्य र मान्यतालाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई विना अवरोध पढ्न पाउने अधिकारबाट बञ्चित नगर्न तथा विद्यालयहरूमा नियमित पठनपाठन गराउँदै शिक्षण सिकाइका क्रियाकलापहरू पुर्ववत् रूपमा नियमित सञ्चालन गर्न सरोकारवाला सबैमा महानगरपालिका निर्देशन गर्दछ ।’

मेयर आचार्यले संघीय शिक्षा ऐनको विरोधमा शिक्षकहरु आन्दोलित हुँदा देशभरका सामुदायिक विद्यालयहरुमा नियमित पठनपाठन बन्द भएको प्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले शिक्षकहरूले आफ्नो हक, हित र वृत्ति विकास लगायतका सवालमा राखेका कतिपय मागहरूप्रति महानगरपालिका संवेदनशील रहेको उल्लेख गरेका छन् । तर विद्यालयहरूको नियमित पठनपाठन तथा सिकाइका क्रियाकलापहरूसमेत अवरुद्ध हुनेगरि आन्दोलन गर्दा विद्यार्थीहरुको निर्वाध शिक्षा हासिल गर्न पाउने नैसर्गिक अधिकारको हनन् हुन पुगेको उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।