शिक्षक महासंघलाई शिक्षकको प्रश्न


     रोमहर्षण पौडेल    
     असाेज ६ गते २०८० मा प्रकाशित




असोज ६, पोखरा
नेपाल शिक्षक महासंघले आयोजना गरेको आन्दोलन तेस्रो दिनमा आइपुग्दा महासंघ र सरकारका बिचमा भएको सहमतिपछि आन्दोलन उपलब्धीविहीन तुहिएको छ । सहमतिमा विमति जनाउँदै शिक्षकहरु भने अझै पनि आन्दोलन गरिरहेका छन् र यसमा म पनि सहभागी रहेको छु ।

आन्दोलनमा सहभागी हुँदा हामी असल शिक्षकहरु आन्दोलनकारीको रुपमा परिणत भयौँ । देशव्यापी रुपमा जनसमर्थन बढ्दै थियो । शिक्षाविद, राजनीतिक दल, नागरिक समाज, प्राध्यापक, विद्यार्थी, पत्रकारलगायत धेरैजसो शिक्षासम्बन्धी सरोकार राख्ने सबैले आन्दोलनलाई वैचारिक र नैतिक रुपमा समर्थन गरेका थिए । लाखौँ शिक्षकहरु स्वतःस्फूर्त रुपमा सडकमा आएका थिए । लागेको थियो यो आन्दोलनले अब नेपालको शिक्षण पेसा एक अब्बल, सम्मानित र रोजाइको पेसा बन्नुका साथै सामुदायिक । सार्वजनिक विद्यालयको सबलीकरण हुनेछ भनेर, अब आउने नयाँ पिँढीका लागि पहिलो रोजाइको पेसा शिक्षण बन्नेछ भनेर । यो आन्दोलन ऐतिहासिक हुनेछ, बनाइनेछ भन्ने लागेको थियो । तर हिजोको सरकार र शिक्षक महासंघका बिचमा भएको सहमतिले आन्दोलित शिक्षकहरुलाई निरास बनाएको छ । भलै आन्दोलनबाट केही थान पेसागत उपलब्धीहरु प्राप्त भएका छन् तर पूर्ण छैनन् । यो वर्षौँपछिको आन्दोलन केही आंशिक उपलब्धीका लागि मात्र थिएन । यसबाट विद्यालय शिक्षामा आउने आगामी समस्याहरु पूर्ण रुपमा समाधान हुनुपथ्र्यो तर त्यो हुन सकेन । शिक्षक महासंघले आन्दोलन फिर्ता लिएको र शिक्षकलाई धन्यवाद दिएर घर जाऊ भनेर भनिरहँदा अन्य पचास हजार शिक्षकहरु आन्दोलित नै रहेका छन । उनीहरुले सम्झौताप्रति असहमति जनाएका छन् र आज आन्दोलनको चौँथो दिन पनि माइतीघर मण्डलामा महासंघ विरोधी नारा लगाइरहेका छन् । महासंघले गरेको सम्झौतासँग केही अनुत्तरित प्रश्नहरु लिएर म कसरी जिल्ला फर्किन सक्छु ? म अन्यौलमा छु । म लगायत आज पनि आन्दोलित शिक्षकहरुको यी प्रश्नहरुको भरपर्दो र चित्तबुझ्दो उत्तर दिनुपर्ने महासंघको नैतिक जिम्मेवारी हो ।

मेरा प्रश्नहरु:

१) संसदमा दर्ता भएको विधेयकमा सहमतिका बुँदाहरु कसरी संसोधित हुन्छन् ?

२) सहजीकरण गर्ने विधि कस्तो हुन्छ ?

३) शिक्षकको मर्यादाक्रम कसरी कायम हुन्छ ?

४) विशिष्ट श्रेणीको प्रदेशगत कोटा २ वटा मात्रै र माध्यमिक तहमा मात्रै किन ?

५ं) शिक्षक सरुवा गर्दा शिक्षकको सहमति किन नचाहिने ?

६) विभागीय कारवाही र सजायसम्बन्धी व्यवस्था कसरी पुनरावलोकन हुन्छ ?

७) योगदानमा आधारित निवृत्तिभरण प्रारम्ध हुने मिति किन निजामति सरह हुने ? यो ऐन प्रारम्भ हुनु अघि नियुक्त भएका सबैलाई किन नहुने ?

८) निवृत्तिभरण प्रयोजनका लागि मात्र अस्थायी सेवा जोड्ने प्रबन्ध गर्नुभन्दा विश्वविद्यालयमा जस्तै सम्पूर्ण अस्थायी सेवा जोडेर स्वेच्छिक अवकासको प्रबन्ध हुने कुरा किन जोड्न सकिएन ?

९) अस्थायी प्रकृतिका शिक्षकहरुलाई किन एकपटकका लागि मात्र पचहत्तर प्रतिशत? सतप्रतिशत गर्दा के हुन्थ्यो? अहिलेसम्म योग्य ठानेर विद्यालय धानेका शिक्षकहरुलाई अब अयोग्यको बिल्ला भिडाउने कहाँसम्म न्यायसंगत छ ?

१०) पेसागत हकहितका सम्बन्धमा संविधानप्रदत्त ट्र्रेड युनियन अधिकारको सुनिश्चितता कसरी हुने ?

११) शिक्षा नियामावली बनाएर समावेश गर्ने भन्ने अधिकांश विषयहरु विगतमा गरेका सम्झौतामा पनि थिए तर कार्यान्वयन गरिएन । अहिले ति अस्पष्ट नै छन् , तिनीहरुलाई समावेश गर्न सकिने बलियो आधार के छ ?

१२) सहमतिको बुँदा नम्बर ४ मा राष्टिय मापदण्डमा समावेश गर्ने विषयहरु मध्ये विद्यालय कर्मचारीको दरबन्दी के हुन्छ ?

१३) पारिश्रमिक र सामाजिक सुरक्षा कोष कसरी व्यवस्थित होला ?

१४) संस्थागत विद्यालयमा कार्यरत शिक्षकले के प्राप्त गरे ?

१५) शिक्षकको दरबन्दी मिलान र पद मिलान कसरी हुन्छ ?

१६) दरबन्दीहरु स्थानीय तहमा हस्तान्तरण हुन्छ कि हुँदैन ? यदी स्थानीय तहमा हस्तान्तरण भए शिक्षकको समायोजनमा एक तह वृद्धि हुन्छ कि हुँदैन ?

१७) प्राथमिक तहको योग्यता स्नातक तह हुँदा सेवा, सुविधा, तलब स्केल कति हुन्छ?

१८) स्थानीय तहमा विद्यालय व्यवस्थापन कसरी बलियो हुन्छ ?

१९) २०७६।११।०९ र २०७८।११।०९ मा पनि यस्तै सहमति भएको तर कार्यान्वन भएका छैनन् । अहिले यो पनि सहमति मात्रै हो कि कार्यान्वयन पनि हुन्छ ? कार्यान्वयन भए कहिलेसम्म हुन्छ ?

२०ं) आन्तरिक प्रतिस्पर्धा सधै किन नगर्ने ?

२१) शिक्षक सेवा आयोग संवैधानिक भयो त ?

२२) विद्यालय शिक्षक कर्मचारीको तलब, सेवा, सुविधा अन्य राष्ट्रसेवकको भन्दा बढी भयो त ?

२३) तीनै तहका सरकारमा संवाद समिति के हुने भयो ?

२४) विद्यालय तहको शिक्षाको जिम्मेवारी संघीय सरकारको भयो ?

२५) शिक्षक काउन्सिल गठन हुने भयो त ?

२६) विद्यालय शिक्षामा कुल राष्ट्रिय बजेटको २० प्रतिशत लगानी सुनिश्चित हुने भयो ?

२७) विभिन्न समयमा नेपाल सरकार र नेपाल शिक्षक महासंघबिच भएका सम्झौताहरु सबै समेटिए ?

२८) कक्षा १२ सम्मको शिक्षा निशुल्क भयो ?

आसा छ, महासंघले यी प्रश्नहरुको जवाफ दिनेछ र सबै शिक्षकहरु खुसीसाथ कार्यस्थल प्रवेश गर्नेछन् ।

लेखक नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेल हुनुहुन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।