राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–३ मा निर्माण गरिएको दमौली सभागृह उद्घाटन गरेका छन। सहरी विकास मन्त्रालयको लगानीमा निर्माण भएको सभागृहको एक समारोहबीच राष्ट्रपति पौडेलले आज उद्घाटन गरेका हुन।
सोही अवसरमा राष्ट्रपति पौडेलले सभागृह नजिक निर्माण गरिएको बिपी पार्क पनि उद्घाटन गरे । राष्ट्रपति पौडेलले पार्कमा रहेको बिपी कोइरालाको सालिक अनावरण गरे ।
सहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन इकाइ कास्कीमार्फत जिल्ला सभागृह निर्माण भएको हो । रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह निर्माण सम्पन्न भएको हो ।
विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना महामारीका कारण ढिलो गरी सम्पन्न भएको हो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काठमाडौँस्थित डाँफे, एमए र प्रतिष्ठा जेभीले ठेक्का पाएको थियो । सभागृहको क्षमता पाँच सय ९३ रहेको छ । सभागृहको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ ।
भवनमा मुख्य सभाहलबाहेक एक सय ५० जना क्षमताको सेमिनार हल र सभाहल बाहिर फाउन्टेनसहितको भिआइपी पार्किङस्थलको व्यवस्था छ ।
सभागृह उद्घाटन गर्नुअघि राष्ट्रपति पौडेलले आजै भानु नगरपालिका–१३ स्थित भयरथान मन्दिरको दर्शन गर्नुभएको छ । मिर्लुङकोटको पश्चिमतर्फको खोचमा अवस्थित भयरथानमा सातसय मिर्लुङवासीले आस्था र शक्ति केन्द्रका रुपमा पुज्दै आएका छन् ।
स्थानीय देवी गुरुङले राष्ट्रपतिको मिर्लुङ भ्रमणले आफूलाई खुसी लागेको बताए । स्थानीय सुनमाया गुरुङले राष्ट्रपतिको आगमनले यस ठाउँको महत्व अझ बढेको बताए ।
भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णप्रसाद अधिकारीले राष्ट्रपति पौडेल भयरथानको बारेमा जानकार रहेको बताउँदै यस क्षेत्रको विकासका लागि उनी सदैव लागिरहेको बताए । उनले भने, “उहाँको जन्मठाउँ बाहुनपोखरासँगै जोडिएको यस ठाउँमा उनी विगतमा पनि आइरहनुभएको हो, यस ठाउँको विकासका लागि केही गर्छु भन्नुभएको थियो । आज राष्ट्रपतिका रुपमा उनको भ्रमणले हामीलाई उत्साह थपेको छ ।” रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





