नारी उत्थान समाजसेवा पुरस्कार सुष्मा पौडेललाई


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८० मा प्रकाशित




पोखरा । नारी उत्थान समाजसेवा पुरस्कार सामाजिक अभियन्ता तथा पत्रकार सुष्मा पौडललाई प्रदान गरिने भएको छ ।

नारी उत्थान दिदीबहिनी समूह, पोखराले स्थापना गरेको ११ हजार १ सय ११ रुपैयाँ राशिको उक्त पुरस्कार पहिलो पल्ट पौडेललाई प्रदान गर्न लागिएको छनोट समिति संयोजक छन्दनायक माधव वियोगीले बताए ।

प्रतिभा छनोटका लागि समूहका संस्थापक सल्लाहकार छन्दनायक वियोगीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । जसको सदस्यमा समूहकी अध्यक्ष जानुका पौडेल, प्रमुख संरक्षक सरिता घिमिरे, अधिवक्ता जानुका शर्मा र उपाध्यक्ष बिमला भुजेल सदस्य थिए ।

पत्रकारितासँगसँगै महिला हिंसा न्यूनीकरण र सामाजिक जागरणका विभिन्न अभियानमा सक्रिय पोखरा बिरौटा निवासी पौडेल पत्रकार, अधिवक्ता र सामाजिक अभियन्ताको रुपमा परिचित छिन् । उनले कास्कीसहित विभिन्न जिल्लामा पुगेर महिला सशक्तीकरणका विभिन्न कार्यक्रम तथा सीपमूलक शिक्षा प्रदान गर्दैै आएकी छन् ।

गएको २ दशकदेखि समाजसेवामा विशिष्ट योगदान पु¥याएकी उनी पुरस्कारको लागि उपयुक्त पात्र रहेकोले पुरस्कृत गर्न लागिएको संयोजक वियोगीले बताए ।


समाजसेवा क्षेत्रमा विशिष्ट र प्रभावकारी कार्य गर्ने नारी प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले संस्थाले यो वर्षदेखि प्रदान गर्ने गरी पुरस्कार स्थापना गरेको समूहकी अध्यक्ष जानुका पौडेलले बताइन् । पुरस्कार सोमबार पोखराको बेलघारीमा आयोजित समारोहमा हस्तान्तरण गरिनेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।