पोखरा । चिकित्सकको लापर्वाहीले मृत्यू भएको भन्दै आन्दोलनमा उत्रिएका मृतकका आफन्तमाझ गएर चिकित्सकलाई कुटेर आएको हुँकार गर्ने प्रहरी निरीक्षक (ईन्सपेक्टर) मदन श्रेष्ठ निलम्वित भएका छन् ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा लमजुङ दुरागाउँकी रुपा दुराको उपचारको क्रममा मृत्यू भएको विषयलाई लिएर आन्दोलनमा उत्रिएका मृतकका आफन्तमाझ गएर उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई कुटेर आएको भन्दै हुँकार गर्ने ईन्सपेक्टर श्रेष्ठलाई गण्डकी प्रदेश प्रहरी कार्यालयले निलम्वन गरेको हो ।
श्रेष्ठले दिएको अभिव्यक्ति सामाजिक सञ्जाल फेसवुक र टिकटकमा भाइरल भएको थियो । भाईरल भएको सो भिडियोमा श्रेष्ठले आफूले चिकित्सकलाई कुटेको सगर्व सुनाएका छन् । त्यसपश्चात उनको अभिव्यक्तिको कडा आलोचना हुँदै आएको छ ।
ईन्सपेक्टर श्रेष्ठको अभिव्यक्तिले आन्दोलनकारीलाई थप आन्दोलन गर्न उक्साउनुका साथै चिकित्सकको मनोवल खस्काउने र अस्पतालमा कुनै घटना भए चिकित्सकलाई कुट्नुपर्छ भन्ने मनोविज्ञान दिने भन्दै सामाजिक सञ्जालमा आलोना भएको छ ।
विवादित अभिव्यक्ति दिने ईन्सपेक्टर श्रेष्ठ निलम्वनमा परेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महारीक्षक बुद्धिराज गुरुङले पुष्टि गरे । इन्सपेक्टर श्रेष्ठलाई अनुसन्धान सम्मका लागि जिम्मेवारीबाट मुक्त गरिएको उनको भनाई छ ।
कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकलेपनि ईन्सपेक्टर श्रेष्ठलाई निलम्वन गरेको खबर आएको बताए । तर निलम्वन अनुसन्धानको समयसम्मका लागि भएको उनको भनाई छ ।
यसैबीच, आन्दोलनपश्चात त्यस क्षेत्रको सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव निरीक्षक डिएसपी वेद जोशीलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
प्रदेश प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशसिंह कोइरालाको संयोजकत्वमा समिति बनाएको छ । समितिले छानबिन गर्दासम्म श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी श्रवण विकले जानकारी दिए ।
चिकित्सकहरु दोषीमाथि कार्वाहीको माग गर्दै आन्दोलनमा छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालयमा धर्नादेखि ओपिडी सेवा बन्द गर्नेसम्मका आन्दोलन अगाडि बढाएका छन् । घटनामा प्रहरीकोपनि भूमिका राम्रो नभएको उनीहरुको आरोप छ ।
मृतकका आफन्त भने चिकित्सकको लापर्वाहीले दुराको मृत्यू भएकाले घटनाको छानविन हुनुपर्ने भन्दै आन्दोलित छन् । उनहरुले घटनालगत्तै चिकित्सकमाथि हातपात गर्नेदेखि अस्पतालमा तोडफोड गर्ने प्रयाससमेत गरेका थिए भने मंगलबार महेन्द्रपुलमा प्रदर्शन गर्ने, बुधबार पृथ्वीचोकमा चक्काजाम गर्नेलगायतका कार्यहरु गरेका छन् ।
दोषी चिकित्सकलाई कारवाही गर्नुपर्ने र प्रदर्शनका क्रममा पक्राउ परेका मृतक पक्षका विनय गुरुङलाई रिहाई गर्नुपर्ने उनीहरुको माग छ ।
यसबिचमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको रोहवरमा मणिपाल अस्पताल प्रशासन, चिकित्सक र मृतकका आफन्तबीच पटकपटक वार्ता भएपनि निश्कर्षमा पुग्न सकेको छैन । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले दुबै पक्षको अडानका कारण वार्ता निश्कर्षमा पुग्न नसकेको बताए ।
‘घटनामा संलग्न मृतकका आफन्तमाथिपनि कारवाहीको प्रक्रिया अगाडि बढिसकेको छ । प्रहरीलेपनि घटनामा तलमाथि गरेको हो कि भनेर चिकित्सक पक्षले भनेपछि त्यहाँपनि कारवाहीको प्रक्रिया अगाडि बढेको छ ।
पीडित पक्षले उपचारमा लापर्वाही भनेकाले त्यसलाईपनि सम्बोधन गर्ने भनेकाले वार्ता नमिल्नुपर्ने कारण छैन । अब हेरौं वार्ता निश्कर्षमा पुग्ला कि ।’ उनले विहीबार फेरी वार्ता हुने जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







