असोज १० चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमण सोचेभन्दा पनि बढी सफल भएको आफूले महसुुस गरेको बताएका छन् ।
आज चीनको स्वशासित क्षेत्र ल्हासा आइपुग्नुभएका प्रधानमन्त्री दाहालले ल्हासामा अवस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “म अमेरिकादेखि नै आएँ र यस पटकको चीन भ्रमण कस्तो होला भन्ने पनि लागिरहेको थियो । तर अहिले मलाई महसुस भएको छ कि भ्रमण मैले, हामीले सोचेभन्दा पनि फरक भएको छ, सफल भएको छ ।”
यस पटकको आफ्नो चीन भ्रमण यसकारण पनि अन्तर्राष्ट्रियरुपमै चासो रहेको आफूले पाएको उनको भनाइ थियो । त्यसैले यो भ्रमणको सफलताका विषयमा सबैतिर चासो रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यस भेटवार्ताका क्रममा नेपाललाई उहाँले निकै नै महत्त्व दिनुभएको आफूले पाएको बताए ।
प्रधानमन्त्री दाहालले एसियाली खेलकूद प्रतियोगिताको आयोजना गरेको सहर हाङ्चाउमा चिनियाँ राष्ट्रपति सी सँग भेटवार्ता गरेका थिए । त्यस क्रममा उनले एक्लै र नेपाली प्रतिनधिमण्डलले नै भेटेको र आफूहरुलाई एक घन्टा नै समय दिनुभएको प्रसङ्ग उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, “कुनै पनि देशसँग चीनजस्तो देशका राष्ट्रपतिले एक÷एक घन्टा समय दिनु भनेको सामान्य होइन, हामीलाई पनि थाहा छ चीनले अरु देशका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरूलाई समय दिएको देखे सुनेका छौँ, त्यसैले मलाई लाग्छ यो एक दुर्लभ घटना पनि हुनसक्छ ।”
सो भेटका क्रममा सौहार्दपूर्ण कुराकानी भएको र यसबाट नेपाल–चीन सम्बन्धमा सो भेटवार्ता एक महत्त्वपूर्ण सिद्ध हुने बताए । राम्रो समझ्दारी बनेको र राम्रो परिस्थितिको सुरुआत भएकाले यसले आगामी दिनमा राम्रै परिणाम दिने उनको भनाइ थियो ।
आफू एसियाली खेलकूदको उद्घाटनदेखि सहभागी भएको र त्यसपछि बेइजिङमा आएपछि यहाँका प्रधानन्त्री लि छ्याङसँग पनि त्यस्तै महत्त्वपूर्ण भेटवार्ता भएको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले भने, “भूकम्पपछि तथा कोभिडमा बन्द भएका चीनसँगका नेपालका सबै नाकाहरु खुल्ने सहमति प्रधानमन्त्रीसँगको द्विपक्षीय वार्ताका क्रममा भएको र यसले नेपाललाई अहिले नाका बन्द भएका कारण व्यापार व्यवसाय एवं स्थानीय नागरिकमा उत्पन्न विभिन्न समस्याको समाधान हुनेछ ।”
त्यस क्रममा नेपाल–चीन सम्बन्धका विविध विषयमा चर्चा भएको, दुई देशबीच विभिन्न सहयोग तथा सम्झौता एवं समझदारीपत्रहरुमा हस्ताक्षर भएका र आगामी दिनमा त्यसले नेपालको हितमा योगदान गर्ने उनले बताए ।
यस भ्रमणबाट नेपाल–चीनबीचमा नयाँ भरोसा उत्पन्न हुनुका साथै नयाँ सहमति र समझदारी बनेको बताउँदै यसले नेपालका लागि ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले तिब्बत नेपाल र चीनबीचको सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण स्थान रहेको, नेपालसँगका नाकाहरु पनि तिब्बतमै पर्ने भएकाले आगामी दिनमा थप जिम्मेवार भएर काम गर्न महावाणिज्यदूतावासलाई निर्देशन पनि दिए ।
सबै नाका खुल्ने सहमति भएको जानकारी दिँदै उनले त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि महावाणिज्य दूतावासले सक्रिय रुपमा काम गर्नुपर्ने बताए ।
कार्यक्रममा ल्हासास्थित महावाणिज्यदूत नवराज ढकालले यस महावाणिज्यदूतावासले गर्दै आएका काम कारबाहीका साथैे अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यसैगरी तिब्बतमा बसोबास गर्ने नेपालीले प्रधानमन्त्रीसँग आफ्नो बसाइ र यहाँको व्यापार लगायतका विषयमा जानकारी गराएका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





