ईन्टर कलेज व्याण्ड कम्पिटिसन भोलिदेखि

- डि–मर्चा, लेकाली र देउराली व्याण्डको विशेष प्रस्तुती रहने


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०८० मा प्रकाशित




पोखरा, असोज ११

पोखरामा भोलि असोज १२ गतेदेखि ईन्टर कलेज व्याण्ड कम्पिटिसन शुरु हुँदैछ । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा असोज १३ गतेसम्म हुने प्रतियोगिता पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रको डोममा हुनेछ । प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा १८ कलेजका २१ टिमले प्रतिष्पर्धा गर्ने जनाइएको छ । कक्षा ८ देखि स्नातकोत्तरसम्मका विद्यार्थीले सहभागिता जनाउने पाउने प्रतियोगितामा भद्रकाली मावि, कालिका मावि, कुमुदिनी होम्स, ईन्फोमेटिक्स कलेज, कान्तिपुर कलेज, ग्लोवल कलेजियट, सगरमाथा मावि, लाभेन्ज बोर्डिङ स्कुलले प्रतिष्पर्धाका लागि नाम दर्ता गराएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । त्यस्तै, प्रगती बोर्डिङ स्कुल, प्रतिभा मावि, पोखरा एकेडेमी, न्यू ग्यालेक्सी, मदरल्याण्ड, न्यू डायमण्ड मावि, लिङ्कन कलेज र पश्चिमाञ्चल माविपनि सहभागि रहेको उनले बताए । सहभागि मध्ये प्रतिभा, प्रगति र न्यू डायमण्डले दुई÷दुई वटा टिम सहभागि गराएको जनाइएको छ ।

ईन्टर कलेज व्याण्ड कम्पिटिसनमा चर्चित व्याण्डहरुले पनि विशेष प्रस्तुती राख्ने संघले जनाएको छ । संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)का अनुसार कार्यक्रममा डि–मर्चा व्याण्ड, लेकाली व्याण्ड र देउराली व्याण्डको विशेष प्रस्तुती रहनेछ । दर्शकलाई थप मनोरञ्जन होस् भन्ने उद्देश्यले पोखराबाट उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय रुपमा चर्चा कमाएका व्याण्डहरुको प्रस्तुती राखिएको अध्यक्ष गुरुङले बताए । ‘प्रतिष्पर्धीहरुको प्रस्तुती सकिएपश्चात विशेष प्रस्तुतीका रुपमा चर्चित व्याण्डहरुको प्रस्तुती रहन्छ । यसले दर्शकमा थप मनोरञ्जन दिन्छ भन्ने विश्वास छ ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार सेमीफाईनल राउण्ड हुनेछ । सेमीफाईनल राउण्डबाट उत्कृष्ट १० व्याण्ड छनौट गरेर फाईनलमा प्रतिष्पर्धा गराईने संघका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिए । फाईनल राउण्डमा प्रवेश गरेकाहरुले गरेको प्रस्तुतीका आधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरिने उनले जानकारी दिए । उनका अनुसार व्याण्डहरुले कभर सङ्ग मात्रै गाए पुग्छ ।

प्रतियोगितामा सहभागि हुने दर्शकलाई नेपाल टेलिकमको सिम निःशुल्क वितरण गर्दैछ । कार्यक्रम हुने अवधीभर कार्यक्रम स्थलमा स्टल राखेर दर्शकले काटेको टिकटको आधारमा सिम वितरण गरिने संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए ।

पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको पोखरा सांगीतिक कलाकार संघले जनाएको छ । प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने संघका अध्यक्ष हर्कराज गुरुङले बताए । ‘सुस्ताएको सांगितीक क्षेत्रलाई उठाउने प्रयास हो । यसमा व्याण्डले सबै विधामा प्रस्तुती दिन सक्छन् ।’ उनले भने । आधुनिक, लोकभाका र रकमा समेत प्रस्तुती दिने सकिने जनाउँदै उनले आफनै सृजनाका गीतलाई पनि प्रस्तुतीकरण गर्न सक्ने स्पष्ट पारे ।

एकातिर विद्यालयमा भएका प्रतिभालाई उजागार गर्ने र अर्कोतिर सांगितिक माहोल सृजना गर्न कोशेढुंगा सावित हुने विश्वास संघले लिएको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । मानसिक स्वास्थ्य सुधार्नपनि कार्यक्रमले सघाउने उनको भनाई छ । स्वास्थ्य मानसिकताले मात्रै शैक्षिक सफलता प्राप्त हुने विश्वास संघको छ । त्यसैले शिक्षासँगै संगीत भन्ने अभियानलाई अगाडि बढाएको उनको भनाई छ ।

प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने सचिव श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।