पोखरा । नेकपा एमालेले पार्टीको प्रादेशिक चुनावमा प्यानलसहित चुनाव लड्न निशेध गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्यानलसहित चुनाव लड्न नदिन प्रदेशको चुनाव गराउन खटिएका नेताहरुलाई निर्देशन दिएका छन् ।
गण्डकीमापनि प्यानलसहित चुनाव लड्न निशेध गरिएको थियो । एमाले गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले प्यानलसहित चुनाव लड्न नपाईने बताएका थिए ।
उनले भनेका थिए,‘प्यानल खडा गरेर चुनाव लड्न पाईंदैन र दिईदैन । अस्वस्थ प्रतिष्पर्धा गर्ने, प्यानल बनाएर चुनाव लड्ने अधिकार कसैलाई दिईदैन र त्यो छुटपनि छैन ।’
तर केन्द्रको निर्देशन लत्याउँदै पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ (पिएस) र स्थायी कमिटी सदस्य खगराज अधिकारी (केआर) समूहले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् । केन्द्रमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट भएझैं गण्डकीमा पिएस र केआर गुट छ ।
पिएसलाई विष्णु पौडेल र केआरलाई शंकर पोखरेलको साथ छ । यद्वपी केआरलाई सघाउन पोखरेल आफै आउँदा पिएसलाई सघाउन पौडेल भने पोखरा आएनन् ।
केन्द्रमा विष्णु र शंकरजस्तै गण्डकीमा पिएस र केआर गुटबीच को बलियो भन्ने लडाईं छ । गण्डकीका पूर्व मुख्यमन्त्री द्वय पिएस र केआर फेरी आमनेसामने भएका हुन् । दुई गुटको लडाईं चलिरहँदा पूर्व माले पृष्ठभूमिका किरण गुरुङ र पद्मा अर्यालले तेश्रो धारको अभ्यास गरेका छन् ।
उनीहरु जता खुल्छन् त्यतै पल्ला भारी हुने अनुमान गरिएको छ । यद्वपी पिएस गुटले किरण र पद्माको साथ आफूतिर रहेको दाबी गरेका छन् । तर गुरुङ स्वयम् भने डेंगु भएको कारण देखाउँदै अधिवेशन स्थलमा आएका छैनन् भने पद्मालेपनि आफू साझा व्यक्ति भएको भन्दै अधिवेशन स्थल छाडेकी छन् ।
दुई दिनसम्मको सहमतिको प्रयास बालुवामा पानी हालेसरह भएपछि बुधबारदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । मंगलबारदेखि नै निर्वाचन प्रक्रिया शुरु गर्ने भनिएपछि सहमतिको नाममा एक दिन ढिला शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत बुधबार उम्मेदवारी दर्ता भएको छ । जसमा पिएस र केआर दुबै समूहले प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।
पिएस समूहबाट अध्यक्षमा हालका तदर्थ समितिका अध्यक्ष नवराज शर्मा (म्याग्दी)ले उम्मेदवारी दिएका छन् भने केआर समूहबाट मायानाथ अधिकारी (लमजुङ)ले उम्मेदवारी दिएका छन् । मायानाथ हालैमात्र पिएस गुट छाडेर केआर गुटमा भित्रिएका हुन् । पिएस गुटले नवराजलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि बिच्किएर उनी केआर गुटमा समाहित भएका हुन् ।
पिएस गुटबाट उपाध्यक्षमा मीनप्रसाद गुरुङ र केआर गुटबाट बाबुराम विक, सचिवमा पिएस गुटबाट धनञ्जय दवाडी र केआर गुटबाट रश्मि आचार्यले उम्मेदवारी दर्ता गरेका छन् । केआर गुटबाट उम्मेदवारी दिएका आचार्यपनि हालैमात्र पिएस गुट त्यागेर केआर गुटमा भित्रिएका हुन् ।
उपसचिवमा पिएस गुटबाट दामबहादुर विक, केआर गुटबाट सन्तोष रावल र अर्जुनकुमार सुनामले स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै महिलातर्फको उपसचिव पदमा पिएस गुटबाट मञ्जु अधिकारी प्यासी र केआर गुटबाट मीना गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
एमाले गण्डकी १६५ सदस्यीय छ । जसका लागि ३८२ जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटीले जनाएको छ । सदस्यमा पिएस र केआर गुटबाहेकपनि स्वतन्त्र उम्मेदवारी परेको छ ।
नया नेतृत्व छान्न विहीबार विहान ८ बजेदेखि मतदान हुने निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता सुरेन्द्र थापा मगरले जानकारी दिए । मतदानमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । मतदान सकिएलगत्तै मतगणना गर्ने निर्वाचन कमिटीको तयारी छ । भोटिङ मेसिनको प्रयोग भएकाले तत्कालै परिणाम आउने बताइएको छ ।
एमाले गण्डकीको अधिवेशनमा ९०७ जना प्रतिनिधि छन् ।
नेकपा एमाले गण्डकीका ईञ्चार्ज गोकर्ण विष्टले सहमति गर्ने समय अझै टरिनसकेको बताएका छन् । निर्वाचन प्रक्रियाकाबीच सहमतिको प्रयास भइरहेको उनको भनाई छ । ‘यो बिचमापनि सहमति हुनसक्छ । त्यसो भयो भने निर्वाचन रोकेर सर्वसम्मत नेतृत्व घोषणा गर्छौं’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र पेन्सन पट्टाको प्रचार तिब्र पारिएको…





