पोखरामा एक महिने छ्याँडु प्रशिक्षण सम्पन्न

- लोपोन्मुख संस्कृति संरक्षणमा जुट्न सांसद गुरुङको आग्रह


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०८० मा प्रकाशित




असोज २८ पोखरा । पोखरामा एक महिनासम्म सञ्चालन गरिएको छ्याँडु प्रशिक्षण आइतबार सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा तमु साँस्कृतिक प्रतिष्ठान नेपालको आयोजना भएको प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले लोपोन्मुख संस्कृति संरक्षणमा जुट्न सबैलाई आग्रह गरे । उनले भने, ‘हाम्रो पुस्तासम्मका युवाहरु विदेशिए पनि अवकाश पश्चात् स्वदेशमै फर्किएर परिवारसङ्ग बस्ने र समाजका विभिन्न गतिविधिमा संलग्न भइ संस्कृति जगेर्नामा लागिरहे पनि अहिलेका युवाहरु विदेशतिरै पलायन हुने बढ्दो छ ।’

यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्दैे लोपोन्मुख संस्कृति संरक्षणको लागि यो उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा तमु साँस्कृतिक प्रतिष्ठान नेपाल र गण्डकी प्रज्ञा प्रतिष्ठानप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा रेडियो नेपाल प्रादेशिक प्रशारण पोखराका उप–प्रमुख शान्ती तमु, तमु धि नेपालका अध्यक्ष हुम बहादुर तमु, गण्डकी प्रज्ञा प्रतिष्ठान नेपालका उपकुलपति गोरे तमु, संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमु, छ्याडु प्रशिक्षक भिमबहादुर तमु, प्रशिक्षार्थी हेमबहादुर तमु लगायतले बोलेका थिए ।

गत भदौ २८ गतेदेखि शुरु प्रशिक्षणमा प्रशिक्षक दानबहादुर तमु, भिमबहादुर तमु र कुलप्रसाद तमुले सहजिकरण गरेका थिए ।
कार्यक्रममा प्रशिक्षार्थीहरु मध्ये जोगीमणी तमु समाजका लोकबहादुर तमुलाई सहायक प्रशिक्षक, मिलिजुलीतमु समाजका खड्कबहादुर तमुलाई ज्येष्ठ प्रशिक्षार्थी, ताङ्तिङ दुधपोखरी तमु समाजका क्या. भक्तराज तमु र क्होला दिप समाजका गमबहादुर तमुलाई उत्कृष्ट प्रशिक्षार्थी छनौट गरि फेटाले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए ।

३२ वटा तालहरु भएको यो नृत्य विशेष गरि तमु समुदायको पितृकार्य पय (अर्घौं) को दोस्रो दिन हृ (अस्तु) ल्याएपछि नाच्ने गरिन्छ ।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न यस कार्यक्रम सचिव कञ्चन तमुले सञ्चालन गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।