‘आधारभूत संस्कृत भाषा’ कक्षामा आकर्षण बढ्दो


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८० मा प्रकाशित




स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि सञ्चालन गरिएको आधारभूत संस्कृत भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका छन् ।

विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवा सङ्घ स्याङ्जाको सहकार्य र केदारनाथ मन्दिरको आयोजनामा वालिङमा सञ्चालन भएको भाषा कक्षामा युवा प्रशिक्षार्थी आकर्षित हुँदै गएका हुन् ।

एक महिना अघिदेखि सुरु गरिएको भाषा कक्षामा वालिङ तथा आसपासका पालिकाका एकसय जना भर्ना भई अध्ययन गरिरहेका कार्यक्रम संयोजक खगेन्द्रप्रसाद अर्यालले बताए।

“संस्कृत भाषा कक्षामा अहिले युवा बढी आकर्षित देखिएका छन्, विद्यार्थीको सक्रिय सहभागिता रहेको छ” उनले भने, “भाषा कक्षाबारे धेरैले चासो लिएका छन् , आगामी चरणका कक्षामा समावेश गर्ने तयारी छ ।

” भाषा कक्षा सञ्चालन भएको एक महिना भइसकेकाले नयाँ प्रशिक्षार्थीलाई बीचमा सहभागी गराउँदा प्रभावकारी नहुने भएकाले अर्को चरणमा सुरुआतबाटै सहभागी गराउने संयोजक अर्यालले बताए। वालिङ–८ का सिलाइकटाइ व्यवसायी लीलाबहादुर रनपाल संस्कृत भाषा सिक्न पाउँदा खुसी लागेको बताए ।

सिलाइकटाइ व्यवसायका अलावा उहाँले आफ्नो समुदायमा हुने शुभकार्य तथा पितृ कार्य गराउँदै आएका छन । किताब पढेको र आफूभन्दा अग्रजले गरेको देखेकै आधारमा कार्य गराउँदै आएका रनपालले संस्कृत भाषा कक्षामा सहभागी भएसँगै अहिले धेरै सहज भएको महसुस गरेका छन ।

“हिजो धार्मिक तथा पितृ कार्य गराउँदा अप्ठ्यारा भएका विषयलाई आधारभूत संस्कृत भाषा कक्षामा सहभागी भई ज्ञान प्राप्त भएसँगै सहज भएको महसुस गरेको छु” उनले भने, “यस्तो कक्षा पहिल्यै जो कोहीले भए पनि सञ्चालन गर्नुपथ्र्यो, ढिलै भए पनि सञ्चालन भएको छ यो हाम्रा लागि खुसीको कुरा हो ।

” जन्मदेखि मृत्युसम्मका कर्मकाण्ड गर्ने तरिका, नैतिक शिक्षा, आध्यात्मिक शिक्षा, हाम्रा जीवन पद्दतिका विषयमा गुरुकुलीय पद्दतिबाट ज्ञान लिइरहेको उनले बताए । संस्कृत भाषा कक्षा लिएसँगै संस्कृत भाषा उच्चारण तथा शुद्धिकरणमा पनि सहयोग पुगेको उनी बताउछन ।

पछिल्लो समय वैद्धिक सनातन धर्मप्रति विभिन्न प्रकारबाट प्रहार भइरहँदा संस्कृत भाषालाई लोप हुन नदिइ संरक्षण गर्नका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सदस्य एवं मुख्य प्रशिक्षक नेत्रप्रसाद पराजुली बताउछन संस्कृत भाषाको संरक्षण गर्दै नयाँ पुस्तामा भाषा हस्तान्तरण गर्दै संस्कृत साहित्यको संरक्षण, सम्वद्र्धन र जगेर्ना गर्ने उद्देश्यसहित भाषा कक्षा सञ्चालन गरिएको उनले बताए ।

“वालिङ सञ्चालन भएको संस्कृत भाषा कक्षामा विशेष गरी युवाको सक्रिय सहभागिता रहेको छ” उनले भने,“केही पहिलेदेखि कर्मकाण्ड गराउँदै आएका व्यक्ति पनि थप ज्ञान लिनका लागि सहभागी भएका छन ।

” कक्षामा वैद्धिक धर्म, संस्कार, संस्कृति, नैतिक शिक्षा, कर्मकाण्ड, ज्योतिष विद्या, पाठ पारायण तथा सामान्य ब्याकरणकाबारेमा अध्यापन गराइन्छ । तीन महिनाको अवधि रहने गरी सोही अनुसारको पाठ्यसामग्री तयार पारिएको छ ।

“कक्षामा संस्कृत भाषाप्रति युवा पुस्ताको रुचि राम्रो छ, माध्यमिक तहमा अध्ययनरत विद्यार्थी बाबुहरु पनि सहभागी छन्” उनले भने, “भाषा कक्षालाई एउटा अभियानस्वरुप नियमितरुपमा अगाडि बढाउँछौंँ ।” भाषा कक्षामा चार जना प्रशिक्षक हुनुहुन्छ । वालिङ–८ केदारनाथ मन्दिरमा साँझमा दैनिक एकघण्टा संस्कृत भाषा कक्षा सञ्चालन हुँदैआएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।