बडा दशैंको अवसरमा टुँडिखेलमा फूलपाती बढाइँ


     एभरेस्ट आवाज    
     कार्तिक ४ गते २०८० मा प्रकाशित




कार्तिक ४ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह गरिएको छ । बडादसैँको सातौं दिनको अवसर पारेर आयोजना गरिएको फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड प्रदर्शन गरिएको थियो ।

बढाइँ कार्यक्रममा सैनिक हेलिकप्टरद्वारा फूलपाती बढाइ समारोह–२०८० लेखिएको ब्यानर प्रदर्शन, पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत गरिएको थियो । नेपाली सेनाले फूलपाती बढाइँअन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट महानुभावको सहभागिता थियो ।

बडादसँैका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने पुरानै चलन हो । गोर्खाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोकाको दसैँघरमा भित्र्याउने साइत मिलाएर टुँडिखेलमा फूलपाती बढाइँ गरिन्छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।