प्रिय मित्र दुर्गा बहादुर शाह “बाबा”को सूचना बमोजिम पर्वतको फलेवासमा आयोजना हुने २ दिने साहित्यिक कार्यक्रममा भाग लसन पोखराबाट हामी ५ जना मदनराज थापा, दुर्गा शाह “बाबा”, म , असफल गौतम र आरजु बिष्ट सल्यानी आज २०८०/७/१७ गते बिहानैदेखि तयार भएर बस्दछौं। काठमाडौं बाट बिहान ७.१५ बजे फलेवासका लागि रवाना भएको बस बाटोको कठीनाई,बसको सवारि अनुमतिको अनावश्यक झन्झट ब्यहोर्दै चितवनबाट उक्त कार्यक्रममा भाग लिन जानुहुने साहित्य तथा संस्कृतिका श्रष्टा तथा कलाकारहरुलाई मुगलिनबाट समावेश गरि करिब ७ बजे साँझ बिन्ध्यबासीनी मंदिरमा आईपुग्दछ । हामी ढिला नगरी बसमा चढ्दा पो थाहा हुन्छ हामी ५ जनाका लागि बसमा सिटको उपलब्धता रहेनछ।जसोतसो हामी बस यात्रामा सहभागि हुन्छौं।
यो काव्य तथा साँगितिक र सांस्कृतीक अवसरको चाँजोपाँजो मिलाउने अग्रणी ब्यक्तित्व हाल बोष्टन,अमेरिका निवासी महेश्वर पन्तजी हुनुहुँदोरहेछ। राति हामी करीव ९ बजेतिर पन्तजीको जन्मघर पर्वत फलेवास पुग्दा भोक र थकाईले लखतरान परेका हुन्छौं जसमा काठमाडौं, भरतपुरबाट आउनुहुने सहभागी मीत्रहरु हामीभन्दा बढि थकित देखिनुहुन्थ्यो। हामी कार्यक्रम स्थल तथा पन्तजिको घर आँगनमा पुगेर परिचयात्मक कार्यक्रम सकेपछि पन्तजीका बुबा मुमा तथा छरछिमेकीले बडो न्यानो स्वागत सत्कार गरि हामीलाई रात्रीको स्वादिष्ट खाना खुवाउनुहुन्छ । खाना पश्चात् केहिबेर सुस्ताईवरी हामी निद्रा देवीको चरणमा जान पुरुष टोली पन्तजीका हजुरबुबा र हजुरआमाको नाउँमा स्थापित कालीभक्त पन्त तथा कृष्णा पन्त स्मृति प्रतिष्ठान भवनतर्फ लाग्छौं भने महिलाहरुको लागि पन्तजीको घरमै रात्रीवासको ब्यवस्था मिलाईएकोरहेछ। सुत्नु अगाडि केहिबेर गीत संगीतमा रमाउन खोज्दा अचानक करिब ११.५० बजेतिर भुकम्पको दरो धक्का महशुस गर्दछौं।भुकम्पको धक्काले हामीलाई तर्साईदिन्छ जसको केन्द्रबिन्दु जाजरकोट रहेको थाहा हुन्छ। हामी केहिबेर भवनबाट बाहिर प्रांगणमा निस्कन्छौं। केहिबेरपछि पुनः भवनभित्र प्रवेश गरि सुत्ने तरखरमा लाग्दा करिव १ बजिसकेको हुन्छ।
कार्यक्रमको संयोजक स्व.कालीभक्त पन्तजीका नाति महेश्वर पन्तजी रहनुभएको र अनेसासका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, केन्द्रीय उपाध्यक्ष डा रेणुका सोलु,नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के सी, केन्द्रीय पुर्व अध्यक्ष राधेश्याम लेकाली, नेपाल च्याप्टरका पुर्व अध्यक्ष सन्ध्या पहाडी, लगायत केन्द्रीय तथा नेपाल च्याप्टरका सदस्यहरु तथा अन्य पदाधिकारीहरु सम्मिलित यस कार्यक्रममा संगीतकार तथा गायक नरहरी प्रेमी, गायक बिमल क्षत्री, गायिका निशा कंडेलजीहरुले साँगितिक प्रस्तुति दिन आउनुभएको थियो। हामी बाहिरबाट कार्यक्रमका लागि आएका सम्पुर्ण टोलीको संख्या ३२ रहेको थियो ।
२०८०/७/१८ :
करिव ४ बजे बिहानै निद्रा खुल्दछ।सबैका नजर मोबाईलको स्क्रिनमा हुन्छन्।हेर्दा खबर तीतो हुन्छ। पापी भुकम्प (जो ६.४ म्याग्निच्युडको थियो) ले जाजरकोट तथा त्यस क्षेत्रमा पुनः धनजनको बेस्सरी क्षती गरेको रहेछ। सयौं घर भत्किएर १५५ भन्दा बढि व्यक्तिको ज्यान लिईसकेछ । हे भगवान ! दैव पनि किन यत्ति निर्दयी ! मन पिडाले आहत हुन पुग्छ गर्न केही सकिँदैन दैवी विपत्तिका सामु कसको के लाग्छ र ! मृत आत्माहरुको चिरशान्ती,उद्दार र राहत कार्यमा यथासक्य चाँडो होस् भन्ने कामना गर्दछु । दुईथोपा आँसु टपक्क भुईंमा खस्छन्।
बिहानको नित्यकर्मका लागि धारामा हेर्दा पानी थिएन। राती मोटर चलाउने हेक्का रहन नसक्दा भुईं टंकिको पानी र मिनरल वाटरको बोतलको पानीले गुजारा चलाईयो। चियापान पश्चात् फलेवाशको सुन्दर प्राकृतिक र मनोरम दृश्यमा रमाउँदै र फलेवास करिडोर घुम्दै कालीनदीको अवलोकनका लागि निस्कियौं।पुन: कार्यक्रम स्थल पुगेर नास्ता गरे पछि आजको साहित्य संगीतको कार्यक्रमका लागि जुट्न थाल्दछौं।
कार्यक्रममा फलेवास नगरका मेयर प्रमुख अतिथि र सभाध्यक्ष अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के सी रहनुभएको थियो। वडाध्यक्ष समेत सहभागी रहनुभएको आजको पहिलो सत्रमा अतिथिहरु, प्रमुख अतिथिज्यु तथा अन्य वक्ताहरुले कार्यक्रमको महत्ता तथा फलेवासको उन्नति प्रगतिको कामना गर्नुभएको थियो। उक्त अवसरमा महेश्वर
पन्तजीद्वारा लिखित कविता संग्रह “उडेका पाईला” को विमोचन गरिएको थियो। उक्त पुस्तकका बारेमा साहित्यकार सुरेन्द्र अष्तफलले छोटो र महत्वपूर्ण टिप्पणी राखेका थिए।सो अवसरमा कार्यक्रममा बोल्ने सबै बक्ताहरुले अग्रज साहित्यकार तथा समाजसेवी स्व। कालीभक्त पन्तको फलेवास तथा सिंगो नेपालप्रतिको योगदानबारे चर्चा गर्दै उहाँको प्रशंसा गरेका थिए भने हजुरबुबा हजुरआमाका नाउँमा प्रतिष्ठान खोलेर परदेशमा रहेर पनि घरदेश सम्झि यस स्थानमा आई आफ्ना बुबा आमाको उपस्थितिमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका कवि ,साहित्यकार, कलाकारहरुलाई भेला गरि महत्वपुर्ण कार्यक्रम आयोजना गर्ने महेश्वर पन्तजीको र फलेवासको विकास तथा सुन्दरताको मुक्तकण्ठले प्रशंसा गरेकाथिए। फलेवास न.पा. का मेयरले साहित्यकारको कलमको शक्तिबारे प्रशंसा गर्दै समाज सुधारका लागि कवि साहित्यकारको महत्वमाथि प्रकाश पार्नुभएको थियो।सो अवसरमा मेयर साहवले फलेवासमा आएका लेखक साहित्यकारहरुले फलेवासको सन्दर्भमा सृजना गरेमा ती सृजनाहरुलाई एकत्रित गरि प्रकाशन गरिदिने प्रतिबध्दता व्यक्त गर्नुभयो। पहिलो सत्रको कार्यक्रममा आख्यानकार बिक्रमभक्त जोशीजीको उपन्यास चोभार ब्लुजका बारे नामि पत्रिकाले प्रकाशीत गरेको अंक समेत बिमोचन गरिएको थियो।दिउँसो २.३० बजे पहिलो सत्रको समापन कार्यक्रमका अध्यक्ष तथा अनेसास नेपाल च्याप्टर प्रमुख राजेन्द्र के सी ले गर्नुभएकोथियो।
तत्पश्चात दिवाखानामा सबैजना सहभागी भएका थिए। सोहि दिन मेयर साहवको काठमाडौं जानुपर्ने भएकाले उहाँ विदावारी भै हिंड्न लाग्दा काम बिशेषले गर्दा साहित्यकार मदनराज थापा पनि उहाँसंगै पोखरातर्फ प्रस्थान गर्नुभयो। दिवा खानापश्चात् पुनः आजको कार्यक्रम साहित्यकार गीता कार्कीजीको अध्यक्षतामा शुरु भएको थियो र कार्यक्रम संचालन महेश्वर पन्तले गरेका थिए। यस कार्यक्रममा कवि, साहित्यकार ,गायक गायीकाले फलेवास सम्बन्धि आजै सिर्जना गरिएका र अन्य सिर्जनाहरु सभामा प्रस्तुत गरेका थिए।सो अवसरमा अनेसासका केन्द्रिय पदाधिकारी तथा नेपाल च्याप्टरका पदाधिकारी सबैले आ आफ्ना सिर्जना प्रस्तुत गरेकाथिए। कार्यक्रम साँझ ८ बजे समापन भएको थियो।
साहित्यिक कार्यक्रम समापन भैसकेपछि रात्रीको खानामा सबैजना जुट्तछन्। पुनस् संगीतकारर गायक नरहरि प्रेमी,गायक बिमल क्षेत्री, गायिका निशा कंडेल लगायत स्थानियहरुको संलग्नतामा सांगितिक कार्यक्रम तथा दोहोरी समेत प्रस्तुत गरिएको थियो।
त्यसपछि भगवान श्री पशुपतिनाथसित पुनः आज पनि भुकम्प तथा अन्य दैवी विपत्ति नपरोस् भन्ने कामनाकासाथ निद्रा देवीको शरणमा परियो।
२०८०/७/१९ :
आजको नित्यकर्म सहज रुपमा समापन पश्चात, चियापान ,फोटो सेसन तथा महेश्वर पन्तजीका बुबा आमा आफन्तजन तथा स्थानीयवासीहरुसंग विदा भै बिहान ८ बजेतिर कुश्मातिर लागियो।कुश्मामा लायन्सका पदाधिकारीहरु तथा स्थानीय साहित्यकारहरुले महेश्वर पन्तजीलाई सम्मान तथा अनेसास पदाधिकारी तथा अन्य भ्रमण दलका सदस्यहरुलाई स्वागत तथा सम्मान गरेका थिए।सो अवसरमा महेश्वर पन्तजीले स्थानीयलाई पावर चश्मा हस्तान्तरण गरेका थिए।उक्त कार्यक्रमपछि भ्रमणदल कुश्मास्थित शताब्दीघर पुगी त्यहाँका संचालकले शताब्दीघरको आवश्यकता तथा औचित्यताबारे प्रकाश पारेका थिए। शताब्दीघर अवलोकनपछि भ्रमणदल काठमाडौं फिर्तिका क्रमका डिमुवामा पुगी स्व देवेन्द्र महतजीको रेष्टुँरामा दिवाखाना खाई पोखरा हुँदै काठमाडौंका लागि रवाना भएको थियो।हामी पोखरा टोली पोखरामा ओर्लेपछि बस काठमाडौंका लागि रवाना भयो।शुभयात्रा१ वहाँहरुको यात्रा सहज होस्।
उप संहार :
यति यात्रा वर्णन गरिसकेपछि मलाई यस भ्रमणका बारेमा भन्नुपर्दा थोरैमात्र परिचित र धेरै अपरिचित ब्यक्तित्वहरुसित एकैपटक परिचय तथा भलाकुशारी गर्ने र आफ्ना सरल सिर्जनाहरु सुनाउने तथा अरुका महत्वपूर्ण र गहकिला भनाईहरु सुन्ने तथा सिर्जनाहरुको रसास्वादन गर्न समेत पाईने अवसर जुटाउने महेश्वर पन्तजी ,अनेसासका केन्द्रीय तथा नेपालच्याप्टर परिवारप्रति कृत्यकृत्य भएकोछु। विशेषत: महेश्वर पन्तजीको कला, गला, मन र सिर्जनाहरुबाट प्रभावित हुन पुगेकोछु। सबै नेपाली महेश्वर पन्तजस्तै हुन सक्दैनन्।उसो त दोषरहित मनुष्य फेला पार्न गाह्रोछ।फेरि पनि उहाँको जस्तै फराकिलो सोच कम मात्रको हुन्छ होला। हामी अर्काको दोष देखाउन खुबै सिपालु छौं।पाईलैपिच्छे अर्काको खेदो खेद्न पनि पछि पर्दैनौं तर महेश्वर पन्तजीले हामीलाई देखाउनु भएको कार्य कौशलता र सरलताले मलाई उहाँप्रति नतमस्तक बनाएकोछ। त्यसो भनिरहँदा यस काव्य यात्राका क्रममा भेटेका कसैसित पनि मेरो एकरत्ति रिसराग र गुनासो छैन थिएन र हुने पनि छैन सायद। मेरा लागि सबै आदरणीय र उँचो कदका हुनुहुन्छ।वहाँहरुको नजरमा म तितो वा होचो कदको देखिन पुगेको रहेछु भने पनि मलाई दुःख लाग्नेछैन किनभने मैले हिउँझै स्वच्छ मनले बोल्दा वा व्यवहार गर्न खोज्दा कर्णप्रिय हुन नसकि वा असहज हुन पुगेछुभने मनमनै लौ भगवान जनि गर ! मैले पाप सोचिन साक्षी तिमी बाहेक को नै छ र ! यत्ति भनेर बिट मारें।
जदौ !
देवेन्द्र के सी “देवु”
पोखरा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






