पोखरा । हिमाली सांस्कृतिक परिवारले परिवारका प्रमुख संरक्षण, वरिष्ठ साहित्य, संस्कृति एवं चलचित्रकर्मी चेतन कार्कीको ८६ औं जन्म जयन्तीको उपलक्ष्यमा चेतन कार्की स्मृति सन्ध्या–२०८० आयोजना गर्यो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा जगमान गुरुङले चेतन कार्की बुहआयामिक प्रतिभा भएको उल्लेख गर्दै उनी स्वाभिमानी व्यक्तित्वका प्रतीक भएको बताए ।
कार्कीको बहुआयामिक व्यक्तित्वको चर्चा गर्दै साहित्यकार कवि मुरारी सिग्देलले २७ बर्ष लामो समय चेतन कार्कीको साथ र संगतमा बिताएको स्मरण गरे । सिग्देलले भने,‘उहाँ कुनै पनि निम्तो पाएको कार्यक्रममा १०–१५ मिनेट अगावै पुग्नुहुन्थ्यो । र मलाई पनि धेरै ठांउमा सॅंगै लानु हुन्थ्यो ।’
कार्की पोखरा र देहरादुनबासी नेपालीको बीचको सेतु भएको बताउँदै सिग्देलले साहित्य, कला, संस्कृति, चलचित्र लगायत विविध क्षेत्रमा दक्षता राख्ने चेतको विराट व्यक्तित्व भएको उल्लेख गरे । कार्की अध्ययनशिल, तिक्ष्ण स्मरण शक्तिका धनि र चिसोमा पनि कोकको सौखिन रहेको सिग्देलले बताए ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरालाई सांस्कृतिक क्षेत्रको रुपमा चिनाउन चेतन कार्की र हिमाली सांस्कृतिक परिवारको महत्वपूर्ण योगदान रहेको बताए ।
बरिष्ठ गायिका बाबा राणा बज्राचार्यले आफ्ना बुबा कर्णेल घनबिक्रम र चेतन कार्कीको दोस्तिको स्मरण गर्दै कार्कीको नाटक “आत्मा मरेको छैन” मा गाएको गीत गुनगुनाएकी थिइन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाले हिमालीको बिकासमा संरक्षक, सल्लाहकार, आजीवन सदस्य एवं कलाकारहरूको ठूलो भूमिका रहेको उल्लेख गरे ।
मानार्थ सदस्य टीकाबहादुर कार्कीको धन्यवाद मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सचिव श्रीजंग गुरुङले गरेका थिए । त्यस अवसरमा परिवारका कलाकारहरूले सांस्कृतिक झलक प्रस्तुत गरेका थिए । कार्यक्रममा चेतन कार्कीका दुई छोरा पारस र पंकज कार्की, कर्णेल जे पि क्रस, लगायतको पनि उपस्थिति थियो ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







