पोखरा । पोखरामा सम्पन्न दुई दिवसीय गण्डकी प्रदेशस्तरीय सांस्कृतिक संगोष्ठीका वक्ताले प्राचीन संस्कृति सङ्कटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
वक्ताले पश्चिमा संस्कारको प्रभावले आफ्नै विद्यार्थी र छोराछोरी राष्ट्रियताप्रति विमुख हुँदा प्राचीन संस्कृति सङ्कटोन्मुख भएको बताए । नेपाल संस्कृत विश्वविद्यालय वेलझुण्डी दाङ अन्तरगत राष्ट्रिय संस्कृति अध्ययन केन्द्रको आयोजनामा सम्पन्न गोष्ठीका वक्ताले उक्त धारणा राखेका हुन् ।
जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानको संयोजन, पोखरा प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा गण्डकी प्रदेशका विभिन्न संस्थासँगको समन्वयमा मङ्सिर ४ र ५ गते पोखरामा आयोजित संगोष्ठीमा नेपाली वाङ्मयसम्वद्ध सात गोष्ठीपत्र प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा प्राडा माधवप्रसाद पोखरेलले ‘गण्डकी प्रदेशमा बोलिने भाषाहरूको अवस्था’, प्राडा कुसुमाकर न्यौपानेले ‘गण्डकी प्रदेशको संगीत’, प्राडा ज्ञानबहादुर कार्कीले ‘स्याङ्जाका चारकोटहरूको चिनारी र ऐतिहासिकता’, प्राडा जगन्नाथ रेग्मीले ‘पर्वत, मोदी र बेनीको महत्व’, डा शान्ता खत्रीले ‘कुमाल जातिको परम्परागत संस्कृति र पेशामा भएको परिवर्तन’, लक्ष्मण श्रेष्ठले ‘पोखरेली गाईजात्रा परम्परा र लोक प्रचलन’ शीर्षकमा गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
अतिथि प्रस्तोताका रूपमा डा गोविन्द आचार्यले ‘देउखहर्या थारू समुदायको वाल वाली गुरही टिउहार’ विषयक गोष्ठीपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीका वक्ताले यस्ता कार्यक्रमले नेपालमा प्रचलित संस्कार, संस्कृति, भाषा, कला, इतिहास तथा पुरातत्वको संरक्षण एवम् प्रवद्धन गरी राष्ट्रिय एकतालाई सुदृढ तुल्याउने धारणा राखे ।
संगोष्ठीको समुद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विविधतायुक्त समाजका विविधतालाई कायम गर्दै मौलिक संस्कृतिको जगेर्ना आजको आवश्यकता भएको बताए । उनले थपे, ‘व्यवहारिक शिक्षा आजको आवश्यकता हो तर हाम्रो संस्कार र संस्कृति बच्यो भने मात्र हाम्रो स्वाभिमान बच्छ ।’
संगोष्ठीको समापन सत्रको समुद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले नेपाली संस्कृतिको अभिन्न अंग साहित्य भएकाले हाम्रो प्राचीन साहित्य कसरी पुर्नलेखन भएको छ त्यसमा ध्यान जान आवश्यक छ भने । उनले सांस्कृतिक क्षयीकरणको अवस्थामा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड समेत दिए ।
नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका अध्यक्ष प्राडा भीमप्रसाद खतिवडाले विश्ववन्धुत्व हराएको बेला हाम्रा संस्कार संस्कृति पुस्तान्तरण नभएकोमा चिन्ता व्यक्त गर्दै समाजमा सांस्कृतिक सन्तुलन र पुस्तान्तरणका लागि व्यवहारिक शिक्षा आवश्यक भएको बताए ।
नेपाल संस्कृत विश्वविद्यालय राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्रका कार्यकारी निर्देशक डा. जर्मन चौधरीले केन्द्रले स्थापनाकालदेखि अधिराज्यव्यापी बहुभाषिक तथा बहुसांस्कृतिक अध्ययन–अनुसन्धानमा क्रियाशील रहेको धारणा राखे ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले हाम्रो संस्कृतिलाई समाप्त पार्नेका विरुद्ध खबरदारी आवश्यक रहेको बताए ।
पोखरा प्रज्ञा–प्रतिष्ठानका कुलपति पद्मराज ढकालले कला संस्कृतिको जगेर्ना राज्यको दायित्व भएकाले यस्ता कार्यक्रममा सहकार्य गर्दै आएको बताए ।
कार्यक्रमका संयोजक जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले गोष्ठीपत्रलाई प्राप्त भएका सुझावलाई समेटेर तिनको सम्पादनसहित प्रकाशन गरिने जानकारी दिए ।
स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष असफल गौतमले सङ्गोष्ठी सफल पार्न प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका थिए ।
संगोष्ठीको उद्घाटन सत्रमा नेपाल पुन मगर समाज अर्चलबोटका कलाकारले जातीय पहिचान झल्काउने पुख्यौली नृत्य प्रदर्शन गरेका थिए । यस्तै समापन सत्रमा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले मेरो टोपी शीर्षकको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





