मंसिर ७ पोखरा । पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातिय विभेद गरेको आरोपमा साढे ४ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत कास्कीले वडाध्यक्ष अधिकारीलाई जातिय विभेद गरेको कसुरमा ४ महिना १५ दिन कैद सजाय सुनाएको हो । वडाध्यक्ष अधिकारीविरुद्ध सोहि वडाकी वडा सदस्य मैया नेपालीले जातिय विभेद गरेको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् ।
वडा सदस्य नेपालीले आफूमाथि वडाध्यक्ष अधिकारीले जातिय दुर्व्यवहार तथा छुवाछुत गरेको भन्दै दिएको जाहेरी उपर विहीबार जिल्ला अदालत कास्कीकी न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले ४ महिना कैद र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको जिल्ला अदालत कास्कीका जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गर्नेलाई ३ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ । तर सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा अभियोग पुष्टि भए थप ५० प्रतिशत सजाय गर्ने व्यवस्था रहे बमोजित वडाध्यक्ष अधिकारीलाई थप सजायसहित साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्ति भर्न आदेश दिएको उनले बताए ।
पीडित नेपालीले वडाध्यक्ष अधिकारीले दलित समुदायको लागि छुट्याइएको बजेट अन्यत्रै खर्च गरेपछि प्रतिवाद गरेकी थिइन् । दलितको बजेट अन्यत्र लैजान नपाइने भनेपछि वडाध्यक्ष अधिकारीले अपशव्द प्रयोग गर्दै सिंगो दलित समुदायमाथि नै अपमानजनक शब्द प्रयोग गरेर जातिय विभेद गरेको आरोप वडा सदस्य नेपालीको थियो ।
वडासदस्य नेपालीको जाहेरीपछि प्रहरीले गत वर्षको पुस २६ गते पक्राउ गरेपनि अदालतले डेढ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
आफ्नो पक्षमा आदेश आएपछि वडासदस्य मैया नेपालीले अदालतले आफूलाई न्याय दिएको बताईन्। उनले भनिन्,‘विभेदका घटनामा पीडितले आवाज उठाए न्याय मिल्ने प्रमाणित भएको छ ।’ उनले अदालतको आदेशले अब कोहीपनि हेपिएर, दबिएर बस्नुपर्ने अवस्थाको अन्य गरेको बताईन् ।
वडाध्यक्ष अधिकारीले भने आफूू न्यायका लागि उच्च अदालत जाने बताए । जिल्लाको जे आदेश आयो त्यसमा मेरो कुनै प्रतिक्रिया छैन,उनले अगाडि भने,‘तर जहाँ गएर न्याय पाईन्छ त्यहाँसम्म पुग्छु । जिल्लाको आदेशबिरुद्ध उच्च अदालत जान्छु, भएन भने सर्वोच्च अदालतसम्मपनि पुग्छु ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १५ फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेसँगै पोखरेली पर्यटन…







