पोखरा । आज विहानैदेखि गण्डकी प्रदेशका उच्च स्थानहरुमा हिमपात भएको छ । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले बताए।
“यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”, कँडेलले भने, “हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ ।” हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए।
यता पोखरामा पनि आज विहानैबाट चिसो बढेको छ ।
उता हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्षको पहिलो हिमपात भएको छ । आज सोमवार बिहानैदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङदेखि जिल्ला सदरमुकाम जोमसोम र तल्लो क्षेत्र घाँसासम्म हिमपात भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।
पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, बाह्रगुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको सबै क्षेत्रमा हिमपात भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । यो समाचार तयार पार्दासम्म अहिले पनि मुस्ताङमा हिमपात भैरहेको छ ।
मुस्ताङको माथिल्लो क्षेत्रमा झण्डै २ फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ । हिमपात भएपछि मुस्ताङमा चिसो बढेको छ । हिमपातका कारण मुस्ताङका स्थानीयवासी कोही हिउँ पन्छाउन लागेका छन् भने कोही घरभित्र बसेर आगो तापिरहेका छन् ।
हिमपात भएर एक्कासी चिसो बढेपछि घर बाहिर निस्कन पनि समस्या भएको छ । मुस्ताङ सदरमुकाम जोमसोमको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा पुगेको जनाइएको छ । चिसोबाट जोगिन घरभित्रै बस्न, तातो खानेकुरा खान र न्यानो कपडा लगाउन स्थानीयलाई अनुरोध गरिएको छ।
यसैगरी जोमसोम विमानस्थलमा आज एउटा मात्रै हवाई उडान भएपछि उडान रोकिएको छ । दुई वटा उडान हुने तालिका रहे पनि मौसम प्रतिकुल बनेपछि पोखराबाट जोमसोमका लागि एउटा मात्रै हवाइजहाज आएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । यता यसवर्ष मंसिर महिनाको दोस्रो हप्तामा नै पहिलो हिमपात भएपछि मुस्ताङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् ।
उता सुदुरपश्चिमका उच्च पहाडी स्थानहरुमा पनि यो सिजनको पहिलो हिमपात भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्थानीय तह निर्वाचनको पूर्वतयारी थालेको निर्वाचन आयोगले बितेका तीन महिनामा एक लाख…






