संकल्प यात्रालाई केपी ओलीले कास्कीका दुई ठाउँमा सम्बोधन गर्ने


     एभरेस्ट आवाज    
     मंसिर १९ गते २०८० मा प्रकाशित




पोखरा, मंसिर १९

नेपाल कम्युनिष्ट पार्टी एकीकृत माक्र्सवादी लेनिनवादी (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्रालाई कास्कीमा दुई ठाउँमा सम्बोधन गर्ने भएका छन् । नेकपा एमालेले जारी राखेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रामा निस्केको टोलीलाई पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले कास्कीमा विहीबार र शुक्रबार फरक÷फरक दुई ठाउँमा सम्बोधन गर्ने नेकपा एमाले कास्कीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार ओलीले विहीबार अपराह्न पोखराको हेमजामा र शुक्रबार विहान पोखरा–३० तालचोकमा संक्षिप्त सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । विहीबार पर्वतहुँदै कास्की प्रवेश गरेको संकल्प यात्रामा सहभागीलाई कास्कीको पश्चिम सीमा क्षेत्र नयापुल र अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा छुट्टाछुट्टै कार्यक्रम गरेर स्वागत गरिने उनले बताए । त्यसपछि पोखरा–२५ हेमजा मिलनचोकमा अपराह्न ४ः३० बजे आयोजित भेटघाट कार्यक्रममा ओलीले सम्बोधन गर्ने उनले जानकारी दिए ।

विहीबार पोखरा आएको संकल्प यात्राको टोली शुक्रबार विहान पोखराको जिरो किलोमिटरबाट प्रस्थान गर्नेछ भने सो टोलीलाई पोखराको अमरसिंहचोकमा स्वागत गरिनेछ । त्यसपछि टोली तालचोकमा पुगेपछि पूर्वाह्न ९ः०० बजे हुने स्वागतसहितको भेटघाटका क्रममा अध्यक्ष ओलीले संक्षिप्त सम्बोधन गर्ने गुरुङले बताए । तालचोकको कार्यक्रम समापनपछि संकल्प यात्राको टोली रुपा गाउँपालिकाको तालवेसी, पिपलेबजारहुँदै लमजुङ जाने र त्यहाँ स्वागत गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए ।

कास्कीमा विवादित ठाउँ छलेर संकल्प यात्रा

एमालेले थालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा पुष्पलाल मध्यपहाडी लोकमार्गमा केन्द्रीत छ । संकल्प यात्राको मुख्य उद्देश्य मध्येको एक मध्यपहाडी लोकमार्गमा देखिएका समस्या बुझ्ने र त्यसको समाधानका लागि प्रयास गर्ने हो । अर्थात समस्या उत्पन्न भएका ठाउँका स्थानियसँग छलफल गरेर निकास निकाल्नेपनि यात्राको उद्देश्य हो । तर कास्कीमा भने विवादित ठाउँ छलेर संकल्प यात्रा अगाडि बढाउनेगरी कार्यतालिका बनाइएको छ । मध्यपहाडी लोकमार्ग लैजाने रेखाङ्कनबारे पोखरा–१६ र १९ का बाटुलेचौरदेखि अर्मलासम्मका स्थानिय आन्दोलित छन् । हालको रेखाङ्कनप्रति असहमति जनाएका उनीहरुले नया रेखाङ्कन गर्न दवाब दिदै आएका छन् । उनीहरुले वडा कार्यालयमा धर्नादेखि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउनेसम्मका कार्यक्रम गरिसकेका छन् । यहि विवाद देखेर एमालेको संकल्प यात्रा टोलीलाई सो क्षेत्रमा नलैजानेगरी कार्यतालिका बनाइएको छ ।

तर नेकपा एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ सजिलोका लागि मात्र सो क्षेत्र नलगिएको बताउँछन् । विवादित ठाउँमा गएर उनीहरुको समस्या सुन्ने र समाधानका लागि पहल गर्ने त हाम्रो संकल्प यात्राको उद्देश्य नै हो,उनले भने,‘त्यसमा क्षेत्रमै गएर कार्यक्रम नगरेपनि समय मिलाएर त्यहाँका स्थानियसँग हाम्रो अध्यक्ष केपी शर्मा ओलीले भेटघाट र छलफल गर्नुहुन्छ ।’ तर छलफलको समय भने तय नभइसकेको उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।